गृहमन्त्री गुरुङले भने: ‘आइजिपीलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिन्ह प्रदान गर्ने व्यवस्था मिलाउन पहल गर्छु’ - Chaitanya News
  • 2026-04-21
  • 12:54:43
  • मंगलबार,बैशाख ०८, २०८३
  • गृहमन्त्री गुरुङले भने: ‘आइजिपीलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिन्ह प्रदान गर्ने व्यवस्था मिलाउन पहल गर्छु’

    गृहमन्त्री गुरुङले भने: ‘आइजिपीलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिन्ह प्रदान गर्ने व्यवस्था मिलाउन पहल गर्छु’

    काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आइजिपी)लाई दर्ज्यानी चिन्ह (फुली) प्रधानमन्त्रीबाट प्रदान गर्ने व्यवस्था मिलाउन पहल गरिने बताएका छन्।

    हाल प्रचलनमा रहेको व्यवस्थाअनुसार आइजिपीलाई गृहसचिवले फुली प्रदान गर्दै आएका छन् भने यसअघि अवकाशप्राप्त हुने आइजिपीले नयाँ आइजिपीलाई उक्त चिन्ह हस्तान्तरण गर्ने अभ्यास रहेको थियो।

    सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा गरिएको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले प्रहरी संगठनको सुदृढीकरणका लागि विभिन्न सुधारात्मक पहल आवश्यक रहेको धारणा व्यक्त गरे। उनले प्रहरी पोसाक देशभित्रै उत्पादन गरी गुणस्तरीय बनाउने योजना रहेको जानकारी दिए।

    मन्त्री गुरुङले प्रहरी संगठनलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो तर्फबाट कुनै दबाब नपर्ने स्पष्ट पारे। संगठनलाई सुदृढ र प्रभावकारी बनाउन आवश्यक सहयोग प्रदान गरिने उल्लेख गर्दै आइजिपीको भूमिकालाई थप सक्षम बनाउने दिशामा काम हुने बताए।

    सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिँदै उनले ट्राफिक व्यवस्थापनमा कुनै पनि मन्त्री वा उच्च पदस्थ व्यक्तिलाई विशेष प्राथमिकता नदिनुपर्ने धारणा राखेका छन्।

    निरीक्षणका क्रममा उनले प्रहरी संग्रहालय, डिजिटल फरेन्सिक प्रयोगशाला, डाटा सेन्टर तथा पोलीग्राफ इकाइको अवलोकन गरी सम्बन्धित गतिविधिबारे जानकारी लिए। विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहने प्रहरीलाई आवश्यक साधन स्रोत र तालिम उपलब्ध गराउनेतर्फ पनि सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।