निजामती समूहहरूसँग सम्बन्ध नभएको रास्वपाको स्पष्टिकरण, तटस्थ प्रशासनमा जोड - Chaitanya News
  • 2026-07-07
  • 20:19:20
  • मंगलबार,आषाढ २३, २०८३
  • निजामती समूहहरूसँग सम्बन्ध नभएको रास्वपाको स्पष्टिकरण, तटस्थ प्रशासनमा जोड

    निजामती समूहहरूसँग सम्बन्ध नभएको रास्वपाको स्पष्टिकरण, तटस्थ प्रशासनमा जोड

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती प्रशासनभित्र सञ्चालन भइरहेका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संरचनासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। पार्टीले प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै पेशागत र जनउत्तरदायी बनाउने आफ्नो नीति दोहोर्याएको छ।

    पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा निजामती सेवाभित्र विभिन्न नाममा समूह गठन गरी पार्टी र नेतृत्वसँग जोड्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। “निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग हाम्रो कुनै सम्बन्ध छैन,” विज्ञप्तिमा उल्लेख छ।

    रास्वपाले आफ्नो नाम प्रयोग गरी भ्रम सिर्जना गरेर स्वार्थ पूरा गर्न खोजिएको हुन सक्ने भन्दै त्यस्ता गतिविधिबाट सचेत रहन कर्मचारी तथा सरोकारवालालाई आग्रह गरेको छ। पार्टीले यस्ता कुनै पनि गतिविधिमा आफ्नो समर्थन वा संलग्नता नरहेको स्पष्ट गरेको छ।

    विज्ञप्तिमा निजामती सेवाको मूल उद्देश्य जनसेवा भएको उल्लेख गर्दै कर्मचारीहरूको पहिचान व्यावसायिकता हुनुपर्नेमा जोड दिइएको छ। साथै, प्रशासनिक संयन्त्रलाई कुनै पनि राजनीतिक दल वा शक्ति केन्द्रको प्रभावमा पार्ने कार्य आफ्नो नीति र सिद्धान्तविपरीत हुने रास्वपाको भनाइ छ ।
    पार्टीले ‘मेरिटोक्रेसी’ अर्थात् योग्यता प्रणालीका आधारमा प्रशासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै नियुक्ति, पदोन्नति र जिम्मेवारी वितरणमा दक्षता र क्षमताको आधार अपनाउनुपर्ने धारणा राखेको छ। कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

    रास्वपाले दलीय प्रभाव, त्रास वा दबाबमा आधारित कार्यसंस्कृतिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई तटस्थ, निष्पक्ष र जिम्मेवार ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न आह्वान गरेको छ।