काठमाडौँ– रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले प्रधानमन्त्री पदको शपथ लिएका छन्। उनले आज (शुक्रबार) १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा शुभसाइत पठाएका थिए।
बालेनले आफ्नो शपथका क्रममा नयाँ प्रयोग समेत गरेका छन्। विगतमा प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा फगत शपथ मात्रै हुने गरेकामा यो पटक उनले राष्ट्रपति भवन शीतल निवासमा नयाँ प्रयोग गरेका हुन्।
नयाँ प्रयोग यसअर्थमा कि उनले शपथअघि वैदिक परम्परालाई पनि स्मरण गराए। उनले शपथका क्रममा एकसाथ सात शंखबाट शंखनाद गराइयो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइयो। त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरियो।
योग र अध्यात्मका अनुसार मानव शरीरमा सातवटा मुख्य ऊर्जाहरू (चक्र)हुन्छन्। शंखको ध्वनिले उत्पन्न गर्ने कम्पनले ती सात च्रकहरू मूलाधारदेखि सहस्रारसम्मलाई जागृत र सन्तुलित बनाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ।
त्यस्तै, ७ वटा शंख बजाउनुलाई सप्तऋषिको उपस्थिति र आशीर्वाद प्राप्त गर्ने माध्यमको रूपमा लिइन्छ।
सातको संख्यालाई पूर्णताको प्रतीक मानिने हुनाले, यसले पूर्ण विजय, सुख र समृद्धिको संकेतसमेत गर्ने हिन्दु धार्मिक ग्रन्थहरूमा उल्लेख छ। यस्तो प्रयोग शपथमा पहिलो पटक भएको बताइएको छ।
शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए।