१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक - Chaitanya News
  • 2026-04-22
  • 23:03:02
  • बुधबार,बैशाख ०९, २०८३
  • १६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक

    १६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक

    काठमाडौँ– राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना (२०८१–८२–२०८५–८६) को प्रभावकारी कार्यान्वयनका लागि विस्तृत कार्यान्वयन कार्य योजना सार्वजनिक गरेको छ। यो कार्ययोजनालाई मन्त्रिपरिषद्ले २०८२ फागुनमा स्वीकृत समेत गरिसकेको छ।

    १६औँ योजनामा ५ वर्षको अन्त्यसम्ममा ७।३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ। साथै प्रतिव्यक्ति आय हालको १,४५६ अमेरिकी डलरबाट बढाएर २,३५१ डलर पुर्‍याउने लक्ष्य छ। निरपेक्ष गरिबीलाई १२ प्रतिशतमा झार्ने लगायतका लक्ष्य लिइएको छ।

    यी लक्ष्य पुरा गर्नका लागि तयार कार्य योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य लक्ष्यका रूपमा अङ्गीकार गरेको छ। यस कार्य योजनाले सङ्घीयताको सुदृढीकरण, स्थानीय तहको क्षमता अभिवृद्धि र समावेशी दिगो विकासलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    यस कार्य योजनाले नेपालको समग्र विकास प्रक्रियालाई दिशानिर्देश गर्ने उद्देश्य राखेको छ। यसमा आर्थिक वृद्धि, मानव पुँजी निर्माण, पूर्वाधार विस्तार, सुशासन र वातावरणीय दिगोपनालाई प्राथमिकता दिँदै समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य उल्लेख छ। कमजोर कार्यान्वयन क्षमता, बढ्दो जलवायु परिवर्तनजन्य जोखिम र सार्वजनिक सेवा प्रवाहमा देखिएका जटिलताहरूलाई सम्बोधन गर्न यो योजना आवश्यक रहेको बताइएको छ।

    समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रहरू पहिचान गरी कार्य योजना बनाइएको छ। सङ्घ,प्रदेश र स्थानीय तहबिचको सहकार्य र समन्वयमार्फत योजना कार्यान्वयनलाई व्यवस्थित बनाइने जनाइएको छ।

    v