मापदण्ड मूल्यांकनमा चौतारा अस्पताल नेपालकै उत्कृष्ट घोषित - Chaitanya News
  • 2026-03-29
  • 02:25:07
  • शनिबार,चैत्र १४, २०८२
  • मापदण्ड मूल्यांकनमा चौतारा अस्पताल नेपालकै उत्कृष्ट घोषित

    मापदण्ड मूल्यांकनमा चौतारा अस्पताल नेपालकै उत्कृष्ट घोषित

    काठमाडौँ– सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको चौतारा अस्पताल न्यूनतम सेवा मापदण्ड र क्लिनिकल अडिट मूल्यांकनमा देशभरकै ५० शैयासम्मका अस्पतालमध्ये उत्कृष्ट ठहरिएको छ।

    बागमती प्रदेशअन्तर्गतको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले गरेको अनुगमन तथा मूल्यांकनमा अस्पतालले ‘ए’ स्तर प्राप्त गर्दै कुल ९६ प्रतिशत अंक हासिल गरेको हो। प्रशासनिक व्यवस्थापन, क्लिनिकल सेवा प्रवाह र सहायक सेवाहरूको सूचकमा गरिएको मूल्यांकनमा क्रमशः उच्च स्तरको नतिजा देखिएको निर्देशनालयले जनाएको छ।

    अनुगमन २०८२ साल चैत ८ र ९ गते सम्पन्न भएको थियो। २६ वटा सूचकका आधारमा गरिएको मूल्यांकनमा अस्पतालले प्रशासनिक व्यवस्थापनतर्फ ९७ प्रतिशत, क्लिनिकल सेवातर्फ ९५ प्रतिशत तथा सहायक सेवा व्यवस्थापनमा ९७ प्रतिशत अंक प्राप्त गरेको बताइएको छ।

    अनुगमन टोलीका सदस्य तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र लाम का अनुसार समीक्षा प्रक्रियामा अस्पतालको समग्र सेवा गुणस्तर, व्यवस्थापकीय क्षमता र सेवा प्रवाहको प्रभावकारितालाई समेटेर मूल्यांकन गरिएको थियो।

    मूल्यांकनका क्रममा १०० प्रतिशत अंकमध्ये ९६ प्रतिशत प्राप्त गर्दै चौतारा अस्पतालले ५० शैयासम्मका अस्पतालमध्ये देशमै अग्रस्थान हासिल गरेको घोषणा गरिएको हो। समीक्षा सत्रमा अस्पतालले अझ सुधार गर्न सकिने पक्षहरू पहिचान गर्दै आगामी वर्ष पूर्ण अंक हासिल गर्ने लक्ष्यसहित योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।

    यसअघि सो अस्पतालले प्रदेशस्तरमा प्रथम स्थान तथा देशव्यापी रूपमा दोस्रो स्थान हासिल गरेको थियो। हालको नतिजासँगै अस्पतालको सेवा गुणस्तरमा निरन्तर सुधार हुँदै गएको मूल्यांकन गरिएको छ।

    अनुगमन तथा समीक्षा कार्यक्रममा अस्पताल सञ्चालन समितिका अध्यक्ष केशवराज गिरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला प्रहरी प्रमुख काजीकुमार आचार्य, स्वास्थ्य निर्देशनालयका अधिकारी माधव पौडेल तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।