इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं : इरान - Chaitanya News
  • 2026-04-23
  • 04:49:49
  • बुधबार,बैशाख ०९, २०८३
  • इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं : इरान

    इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं : इरान

    काठमाडौं– इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ। अमेरिका–इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको अडान छ।

    ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाइ सार्वजनिक भएको हो।

    इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजनमार्फत् युद्धको क्षतिपूर्ति नभएसम्म लडाइँ जारी राख्ने बताएका हुन्।

    उनले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने पनि बताएका छन्।

    इरानी सेना पूर्ण क्षमताका साथ लडिरहेको बताउँदै उनले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा देशलाई मजबुत रुपमा सम्हालिरहेको बताएका छन्।

    ‘इजरायलका कारण युद्ध लम्बिएको जिकिर’

    रजाईका अनुसार यो युद्ध एक हप्ताभित्रै समाप्त हुन सक्थ्यो, तर इजरायलका कारण लम्बिएको हो। उनले भनेका छन्– अमेरिका युद्धविरामका लागि तयार थियो र संघर्ष अन्त्यतर्फ अघि बढिरहेको थियो। तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी राख्न जोड दिएपछि युद्ध लम्बिएको हो।

    उनले दाबी गरे अनुसार युद्धको १५औं दिनपछि अमेरिकाले पनि यस संघर्षमा जितको कुनै सम्भावना नभएको बुझिसकेको थियो।

    इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पमा काम भइरहेको छः ट्रम्प

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पहरूमा अमेरिकाले काम गरिरहेको बताएका छन्।

    फ्लोरिडामा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका छन्– भेनेजुएलामा जस्तै नयाँ नेता ल्याउन सकिने वा अमेरिकासँग मिलेर संयुक्त नेतृत्व (ज्वाइन्ट लिडरशिप) मोडेल पनि अपनाउन सकिन्छ।

    ट्रम्पले इरान वार्ताका लागि उत्सुक रहेको र चाँडै सम्झौता गर्न चाहेको जिकिर समेत गरेका छन्। ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेका छन्।

    ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने र यसका लागि एक विशेष व्यक्तिसँग छलफल भइरहेको बताएका थिए। तर इरानले ट्रम्पको सो भनाइको खण्डन गरिसकेको छ।