काठमाडौँ– दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्यमा छ। मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार अहिले अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम मात्रै चर्चामा छ। वाग्ले जत्तिको पोर्टफोलियो भएको व्यक्ति नभेटिएकोले उनको दाबी हुँदासम्म अरू कसैले पनि यो मन्त्रालयको दाबी नगरेको बताइन्छ।
यसअघि वाग्लेलाई ‘चेक’ गर्न राष्ट्रिय सभामा अहिलेका अर्थमन्त्री रामेश्वर खनाललाई लैजाने चर्चा थियो। तर, सरकारले राष्ट्रिय सभामा रिक्त विज्ञ सांसदमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।
त्यस्तै, अर्को शक्तिशाली मन्त्रालयको रूपमा रहेको गृह मन्त्रालयमा भने दुई जनाले दाबी गरिरहेका छन्। अहिलेसम्म पार्टीका उपसभापति डीपी अर्याल तथा नेता सुनिल लम्सालले उक्त मन्त्रालयको दाबी गरिरहेका छन्।
लम्साल बालेन निकट हुन्। रुपन्देही–१ बाट निर्वाचित उनको नाम यसअघि बालेन टिमको तर्फबाट महामन्त्रीका लागि चर्चामा समेत थियो। शक्तिशाली मन्त्रालयमा बालेन र रवि पक्षबिच सन्तुलन मिलाउन बालेन पक्षले लम्साललाई ल्याउन चाहेको छ। तर, अर्यालले भने आफू गृहमन्त्री बाहेक अरू केही नबन्ने बताउँदै आएको छन्।
पार्टीले भने अर्याललाई सभामुखको रूपमा अघि सारेको छ, तर उनले सभामुख बन्न रुचि नदेखाएको बताइन्छ। गृहमन्त्री बन्न नपाएको अवस्थामा उनलाई भौतिक पूर्वाधारमा व्यवस्थापन गर्ने विकल्प राखिएको स्रोतले जनाएको छ।