धनगढी- कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले आफ्नो २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सहयोग हस्तान्तरण गरेको छ । विद्यालयले “चैतन्य शैक्षिक जागरण अभियान” अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिका–३ मा रहेको जनजागृति पुष्पलाल स्मृति माध्यमिक विद्यालय लाई आठ थान पङ्खा हस्तान्तरण गरेको हो ।
आज चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी तथा मानव संसाधन (एचआर) विभाग प्रमुख उषा साहूले संयुक्त रूपमा जनजागृति पुष्पलाल स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक ब्रिशलाल विश्वकर्मा लाई पङ्खा हस्तान्तरण गरेका हुन् ।
विद्यालयले रजत जयन्ती वर्षको अवसरमा केवल उत्सव मनाउने मात्र नभई समाजप्रति आफ्नो दायित्व पनि पूरा गर्ने उद्देश्यका साथ विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई सहज र अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउन यस्ता सहयोगात्मक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ रहेको छ ।
चैतन्य पाठशालाले विगत लामो समयदेखि शिक्षा, संस्कार र समाजसेवाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । रजत जयन्ती वर्षको अवसरमा विद्यालयले “ज्ञानको उत्सव, सहदयताको सम्मान” भन्ने मूल भावका साथ विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको थियो ।