पश्चिम एसियाबाट हालसम्म ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता - Chaitanya News
  • 2026-04-24
  • 15:03:55
  • शुक्रबार,बैशाख ११, २०८३
  • पश्चिम एसियाबाट हालसम्म ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता

    पश्चिम एसियाबाट हालसम्म ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता

    काठमाडौँ– परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमार्फत हालसम्म पश्चिम एसियामा रहेका ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरिसकेका छन्।

    मन्त्रालयका अनुसार दर्ता गरिएका विवरणको आधारमा आवश्यकता अनुसार कारबाही वा सहयोगका प्रक्रियाहरू अगाडि बढाइँदै छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व बढेको सन्दर्भमा उक्त पोर्टल यही फागुन १८ गतेदेखि सञ्चालनमा आएको हो।

    अनलाइन पोर्टलमार्फत सम्बन्धित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको विवरण नेपाली राजदूतावास मार्फत संकलन गर्ने कार्य भइरहेको विभागले जनाएको छ।

    पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न मन्त्रालय र त्यहाँ रहेका नेपाली नियोग निरन्तर सक्रिय रहेका छन्। समस्यामा परेका नेपालीको उद्धार, आवश्यक सहयोग र समन्वयका लागि नियोगहरूले नियमित कार्य गर्दै आएको मन्त्रालयले जनाएको छ।

    त्यसैगरी, अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बुधबार सम्पन्न दोस्रो बैठकले समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य उपयुक्त माध्यमबाट सम्पर्क राख्ने, मनोबल बढाउने र प्रतिवेदन तयार गर्ने निर्देशन पश्चिम एसियास्थित सबै नियोगलाई दिएको छ।

    मन्त्रालयले उक्त क्षेत्रमा रहेका सबै नेपाली नागरिकलाई सचेत, संयमित र सजग रहन पनि आग्रह गरेको छ। यसअन्तर्गत कानुन विपरीत फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड वा आदानप्रदान नगर्न अनुरोध गरिएको छ।