एन्फाले भन्यो: ‘ए डिभिजन लिग’ समयमै गर्न सम्भव छैन - Chaitanya News
  • 2026-03-29
  • 03:58:20
  • शनिबार,चैत्र १४, २०८२
  • एन्फाले भन्यो: ‘ए डिभिजन लिग’ समयमै गर्न सम्भव छैन

    एन्फाले भन्यो: ‘ए डिभिजन लिग’ समयमै गर्न सम्भव छैन

    काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ।

    नेपाल फुटबल खेलाडी संघले माग पूरा नभएको भन्दै एन्फाको मुख्यालयमा हिजो (आइतबार) तालाबन्दी गरेको थियो। सोही विषयमा प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले तालाबन्दी हुँदा ‘ए’ डिभिजन लिग समयमै गर्न असम्भव देखिएको जनाएको छ।

    ‘शहीद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वय भई राष्ट्रिय लिग तय भएको र निर्धारित कार्यतालिकाअनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात ए डिभिजन लिग सुरु गर्न एन्फा पूर्ण रुपमा प्रतिवद्ध रहेको र सोही बमोजिम तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ खेलाडी संघको माग र त्रिपक्षीय सहमति तालाबन्दीको बीचमा सबै दैनिक प्रशासनिक गतिविधिहरू अवरुद्ध हुन गएको कारण कार्यान्वयन गर्न असम्भव देखिन्छ।’

    क्लब र खेलाडी संघबीच संवाद र समन्वय भई तय गरिएको कार्यतालिकाअनुसार ‘ए’ डिभिजन लिग गर्न एन्फा प्रतिवद्ध रहेको एन्फाले जिकिर गरेको छ। तर, तालाबन्दी हुँदा दैनिक प्रशासनिक गतिविधि अवरुद्ध हुन गएको कारण सहमति कार्यान्वयन गर्न असम्भव देखिएको एन्फाको तर्क छ।

    खेलाडी संघको मागअनुसार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकटबापत केहि रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

    यस्तै वर्तमान कार्यसमितिद्वारा घोषित पुरस्कार पूर्ण रुपमा भुक्तानी गरिसकिएको एन्फाको तर्क छ। ‘अघिल्लो विभिन्न कार्यसमितिले निर्णय गरी बाँकी रहेका पुरस्कार रकमको सन्दर्भमा आन्तरिक स्रोतबाट भुक्तानी गर्नुपर्ने हुँदा क्रमिक रुपमा आन्तरिक स्रोतको उपलब्धतासँगै भुक्तानी गर्दैजाने संघ प्रतिवद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।