काठमाडौँ– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सबैभन्दा बढी चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहले मतगणनाको पछिल्लो परिणामसम्म उल्लेख्य अग्रता कायम राखेका छन्।
पछिल्लो विवरणअनुसार शाहले ४२ हजार ५४३ मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले ११ हजार ४२७ मत प्राप्त गरेका छन्। यससँगै दुवै उम्मेदवारबीचको मतान्तर ३१ हजार १ सय १६ पुगेको छ।
उक्त क्षेत्रमा जारी मतगणनामा अन्य उम्मेदवारहरूको मतस्थिति पनि सार्वजनिक भएको छ। श्रम संस्कृति पार्टीका समीर तामाङ ले ७ हजार १०७ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसकी मन्धरा चिमरिया ले १ हजार २०२ मत पाएकी छन् भने नेकपाका रञ्जित तामाङ ले ९११ मत प्राप्त गरेका छन्।
परम्परागत रूपमा केपी शर्मा ओलीको प्रभाव क्षेत्र मानिने झापा(५ मा यस पटकको प्रतिस्पर्धालाई राजनीतिक वृत्तले विशेष महत्वका साथ हेरिरहेको छ।
यस निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सारेको छ।
गत फागुन २१ गते सम्पन्न मतदानपछि सुरु भएको मतगणनामा शाहले सुरुवाती चरणदेखि नै अग्रता कायम राख्दै आएका छन्। झापा(५ का सहरी र ग्रामीण दुवै क्षेत्रबाट उनलाई उल्लेख्य समर्थन प्राप्त भइरहेको प्रारम्भिक परिणामले देखाएको छ।