काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान जारी रहेको आज, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले २०६४ सालको आम निर्वाचनमा आफूले हासिल गरेको कीर्तिमानी मत प्रतिशत सम्झँदै नयाँ चुनौती दिएका छन्।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भट्टराईले आफूले गोरखा(३ बाट प्राप्त गरेको करिब ८३ प्रतिशत मतको रेकर्ड तोड्न इच्छुक उम्मेदवारप्रति स्फूर्त चुनौती दिएका छन्। उनले लेखेका छन्, “गोरखाले देखाएको अतुलनीय मायाप्रति म सधैँ आभारी छु। मेरो नउँमा गोरखा(३ ले लेखेको चुनावी रेकर्ड कसैले छिटो तोडेमा खुशी हुनेछु।”
२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा भट्टराईले गोरखा–२ बाट अत्यधिक मतान्तरसहित विजय प्राप्त गरेका थिए। सो चुनावमा उनलाई ४६ हजार २ सय ७२ मत प्राप्त भएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रप्रसाद न्यौपानेले ६ हजार १ सय ७१ मत पाएका थिए। यसरी मतान्तर ४० हजार १०१ थियो, जुन त्यस निर्वाचनमा देशभरकै सर्वाधिक मतान्तर थियो।
तर, खसेको मतको प्रतिशतको आधारमा उनको रेकर्ड अझै कायम छ। हालै चितवन–२ मा भएको उपनिर्वाचनमा रवि लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरी विजयी भएका थिए, तर उनले ७५ प्रतिशत मत पाएको हुँदा प्रतिशतका आधारमा भट्टराईको ८३ प्रतिशतको रेकर्ड अझै तोडिएको छैन।
भट्टराईले आफ्नो लोकप्रियता लामो समय कायम राख्न भने सकेनन्। २०७० सालमा गोरखा(१ बाट लडेका उनले काँग्रेस प्रतिस्पर्धीभन्दा १३ हजार ८५३ मत बढी पाउँदै विजय हासिल गरे। २०७४ सालमा नयाँ शक्तिबाट गोरखा(२ मा लडेका उनले तत्कालीन माओवादीका नारायणकाजी श्रेष्ठ लाई ५७२ मतको न्यून अन्तरले हराए। २०७९ मा उनी उम्मेदवार बनेनन्।
यसपालिको आम निर्वाचनमा भट्टराईले गोरखा(२ बाट उम्मेदवारी घोषणा गरे पनि पछि ब्याक भएका थिए। उनले गोर्खाका दुवै क्षेत्रका काँग्रेस उम्मेदवारलाई समर्थन गरेका छन्।