मतदान गरिसके पछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस्तो भने - Chaitanya News
  • 2026-04-26
  • 04:51:51
  • शनिबार,बैशाख १२, २०८३
  • मतदान गरिसके पछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस्तो भने

    मतदान गरिसके पछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस्तो भने

    काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताएका छन्। मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसपटक युवाहरुको उत्साह धेरै देखिएकाले ६५ प्रतिशतभन्दा बढी मत खस्ने आकलन निर्वाचन आयोगले गरेको जानकारी दिए।

    बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाताहरु छिटोभन्दा छिटो आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएको उनले बताए। मतदान सकिएलगत्तै सहरी र सुगम क्षेत्रबाट मतपेटिका संकलनको काम सुरु हुने र संकलन भएको २४ घण्टाभित्रै मतगणना थालिने भण्डारीले प्रस्ट पारे।

    मतदातामा आफूले भोट दिएको उम्मेदवारले जित्यो कि हार्‍यो भन्ने जान्ने तीव्र प्रतीक्षा हुने भएकाले छिटोभन्दा छिटो नतिजा दिन आयोग प्रतिबद्ध रहेको उनको भनाइ छ। छिटो मतगणना सम्पन्न गर्न धेरै मतपत्र भएका ठाउँमा ५(६ वटासम्म टोली र थोरै भएका ठाउँमा २(३ वटा टोली बनाएर गणना गर्न स्थानीय स्तरमै अधिकार प्रत्यायोजन गरिएको उनले बताए। समानुपातिकसहित सम्पूर्ण नतिजा मंसिर २५ गतेभित्र सार्वजनिक गरिसक्ने आयोगको तयारी छ।

    हिमाली जिल्लाहरुमा हिउँ वा पानी परेका कारण मतदान प्रभावित भएको भन्ने हल्ला गलत रहेको भण्डारीले दाबी गरे। आफू १५ देखि २० वटा हिमाली जिल्लाको निरन्तर सम्पर्कमा रहेको र ती सबै ठाउँमा उत्साहपूर्वक मतदान भइरहेको उनले जानकारी दिए। विगतका निर्वाचनहरुको तुलनामा यसपटक चुनाव प्रचारप्रसारदेखि मौन अवधिसम्म कतै पनि शान्ति सुरक्षा नभड्किएको र सरकारको सुरक्षा व्यवस्था अत्यन्तै प्रभावकारी रहेको उनले बताए।

    कुनै एक मतदातालाई भोट हाल्न एकदेखि दुई मिनेट मात्र लाग्ने भएकाले लाइनमा धेरै समय बस्नु नपर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।