प्रतिनिधिसभा सदस्य निर्वाचनः अहिलेसम्मका सबै अपडेट एकै ठाउँमा - Chaitanya News
  • 2026-04-25
  • 13:59:11
  • शनिबार,बैशाख १२, २०८३
  • प्रतिनिधिसभा सदस्य निर्वाचनः अहिलेसम्मका सबै अपडेट एकै ठाउँमा

    प्रतिनिधिसभा सदस्य निर्वाचनः अहिलेसम्मका सबै अपडेट एकै ठाउँमा

    काठमाडौं– आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाताले अपराह्न ५ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।

    आज प्रतिनिधिसभाको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने)तर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि भोट खसालिँदै छ। प्रत्यक्षतर्फ देशभरका ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

    निर्वाचन आयोगका अनुसार, यस पटक प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार (३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य) र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार (१ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला) मैदानमा छन्। उनीहरूको भाग्यको फैसला १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता (९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य) ले गर्दैछन्।

    देशभर कहाँ के भयो ?

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान
    म संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन्।

    साम्पाङ्ले धरान उपमहानगरपालिका(१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    झापामा के भइरहेको छ ?


    चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा मतदान सुरु भएको छ। मतदाता भोट हाल्न लाइनमा उभिएका छन् । निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । ‘उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन्,’ उनले भने ।

    रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।

    सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गरे मतदान:

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन् ।

    उनले काठमाडौँ महानगरपालिका २९ नम्बर वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    प्रचण्डले गरे मतदान

    नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।

    चितवन–३ का मतदाता रहेका उनले आज बिहान मतदान गरेका हुन् ।

    उनी आजै आफू उम्मेदवार रहेको रुकुम पूर्व जाने कार्यक्रम रहेको छ ।

    नेकपा नेता वर्षमान पुनले मतदान गरे:

    नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गरेका छन् ।

    उनले रोल्पाको बाल उदय माध्यमिक विद्यालय मदिचौरमा मतदान गरेका हुन्। पुन यस अघि पनि रोल्पा क्षेत्र १ बाट विजयी भएका थिए।

    मतदाता पनि उत्साही देखिएका छन् । पहिलो लहरमा मत हालेर फर्किएका ७० वर्षीय मोहनबहादुर पौडेलले भने, ‘नयाँ युगको सुरुवात होस् । परिवर्तनको लहर आओस् ।’

    कोशी प्रदेश मुख्यमन्त्री कार्कीले गरे मतदान:

    कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मतदान गरेका छन् ।

    झापा क्षेत्र नं। ५ अन्तर्गत सूर्योदय निमाबिमामा रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् ।

    उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।

    घिसिङले काठमाडौँको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । उनी काठमाडौँ(३ का उम्मेदवार हुन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेका बेला उनले पनि निर्धारित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

    जनार्दन शर्माले गरे रुकुम पश्चिमबाट मतदान

    प्रतिनिधिसभा सदस्यका लागि रुकुम पश्चिमबाट उम्मेदवार बनेका जनार्दन शर्माले मतदान गरेका छन् ।

    प्रलोपाका उम्मेदवार शर्माले बिहीबार रुकुम पश्चिमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, सेरीगाउँस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

    मतदानपछि सामाजिक सञ्जालमार्फत उनले आफूले सेरीगाउँबाट मताधिकार प्रयोग गरेको जानकारी दिँदै सबै मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

    एमाले महासचिव शङ्कर पोखरेलले गरे मतदान

    नेकपा एमाले महासचिव शङ्कर पोखरले मतदान गरेका छन्।

    दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन्।

    बाँकेमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज

    बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरवास्थित चौधरिया गाउँमा जाने सडकमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज पारिएको छ ।

    गएराति मुख्य सडकबाट ६ किलोमिटर भित्र शङ्कास्पद बस्तु भेटिएको र सो बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको बाँकेका एसपी अङ्गुर जिसीले बताए ।

    निर्वाचन बिथोल्ने समूहले नहरको पुलमाथि प्लास्टिकले बेरेर कुकरमा अन्यवस्तु हालेर राखेका हुन् । बिहीबार बाँकेको ३ वटा निर्वाचन क्षेत्रका १३९ वटा मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको एसपी जिसीले जानकारी दिए ।

    काठमाडौँ–५ का उम्मेदवार कमल थापाद्वारा मतदान

    काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले मतदान गरेका छन् ।

    बिहीबार बिहान ७ बजे काठमाडौँ क्षेत्र नम्बर ५ अन्तर्गत काठमाडौँ महानगरपालिका–४ स्थित विशाल मिलन केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

    मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले निर्वाचन लोकतान्त्रिक विधि र पद्धति भएको उल्लेख गर्दै उत्साहित भएर सहभागी हुन नेपाली जनतालाई आग्रह गरे ।

    काठमाडौँ–६ का उम्मेदवार सबुज बानियाँले गरे मतदान

     

    काठमाडौँ क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बानियाँले मतदान गरेका छन् ।

    बिहीबार बिहान उनले टोखा नगरपालिका ८ स्थित भुवनेश्वरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

    प्रतिनिधिसभाको निर्वाचन बिहीबार देशभर एकसाथ भइरहेको छ।

    विस्तृत समाचारका लागि

    देशका विभिन्न मतदान स्थलहरूमा नेताहरूदेखि मतदातासम्मले मतदान गरिरहेका छन् ।