प्रधानमन्त्रीसहित अरु शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ? - Chaitanya News
  • 2026-04-25
  • 15:30:33
  • शनिबार,बैशाख १२, २०८३
  • प्रधानमन्त्रीसहित अरु शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

    प्रधानमन्त्रीसहित अरु शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

    काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको २0८२ को मतदानका सुरु भइसकेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ।

    प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ। सुरक्षाकर्मीको समन्वयमा प्रधानमन्त्री मतदान गर्न जाने भएकाले समय निश्चित नभएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहान १० बजे मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ। थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएकाले उनले आफैंलाई मत हाल्न भने पाउने छैनन्।

    नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलबाट मतदान गर्नेछन् । ओलीले दिउँसो साढे ११ बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ । ओली गृहजिल्ला झापाको क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा छन् । त्यसैले उनले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् ।

    ओलीसँगै झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०ले पनि आफूलाई भोट हाल्न पाउँदैनन्। उनले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गर्ने छन् । भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनी बिहान ७ बजे मतदान गर्न जाने उनको सचिवालयले जनाएको छ।

    यसैगरी रास्वपा सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गर्ने छन्। रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले पनि आफूलाई मतदान गर्न पाउँदैनन्।

    नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्ने कार्यक्रम छ। उनले पनि आफैंलाई मतदान पाउँदैनन् । उनी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।

    नेकपा सहसंयोजक माधव कुमार नेपालले गृहजिल्ला रौतहटको गौरस्थित रामजानकी कन्या आधारभूत विद्यालयबाट मतदान गर्दैछन्।

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज बिहान ७ बजे बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।