भक्तपुर– भोली हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले यसबारे सञ्चारकर्मीलाई जानकारी दिँदै निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी आजदेखि नै मतदान स्थलमा कर्मचारी खटिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय सबैले आफ्नो जिम्मेवारी बहन गर्दै कर्मचारी परिचालन भएका छन्।”
सुरक्षा रणनीतिअनुसार सामान्य र संवेदनशील मतदान केन्द्रको पहिचान गरी विशेष सुरक्षा व्यवस्था गरिएको उनले जानकारी दिए। जिल्लामा ३९ मतदान केन्द्रलाई सामान्य र ३७ केन्द्रलाई संवेदनशील वर्गमा राखिएको छ। ती केन्द्रमा मतदानको दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सुरक्षा निकायका गरी करिब तीन हजार सुरक्षाकर्मी चौबिसै घण्टा परिचालन हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताए।
जिल्लाका दुई निर्वाचन क्षेत्रका ७६ मतदान स्थल र २३३ मतदान केन्द्र रहेका छन्। यहाँको खरिपाटीस्थित विद्युत् प्राधिकरण तथा कृषि विकास तालिम केन्द्र बोडेमा मतगणना स्थल तोकिएको छ। दुवै स्थानमा सिसी क्यामरा जडानसहित सबै व्यवस्थापन गरिएको गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।
प्रत्येक निर्वाचन केन्द्रमा छजना कर्मचारी र तीन जना स्वयंसेवक खटाइएको छ। मतदान सम्पन्न गर्न जिल्लामा एक हजार ४०० कर्मचारी तथा ७०० स्वयंसेवक खटाइएका छन्। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाका लागि ५० भन्दा बढी मोबाइल टोली खटाइने र कुनै केन्द्रमा विवाद भए तत्काल थप फोर्स पठाउने गरी तयारी जनाइएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरका अनुसार मतदान अधिकृतसहितको टोली आवश्यक सम्पूर्ण सामग्रीसहित सबै मतदान केन्द्रमा पुगेर सर्वदलीय र सर्वपक्षीय बैठकसमेत सम्पन्न भएका छन् । निर्वाचनमा नखटिएका कर्मचारीलाई समानुपातिकमा मतदान गर्न भक्तपुर क्याम्पसमा अस्थायी मतदान केन्द्रको व्यवस्था मिलाइएको उनले जानकारी दिए।