काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति नै भइरहेको बताएका छन्।
मौन अवधिको सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘झुटा प्रचारका लागि सामाजिक सञ्जालको अति प्रयोग भइराखेको छ। हामीले नियमन र नियन्त्रणका लागि काम गरिरहेका छौ,’ भण्डारीले भनेका छन्, ‘तथापि सञ्चार जगतको पनि गलत प्रचार रोक्ने भूमिकाको अपेक्षा छ।’
उनका अनुसार एआईसिर्जित डिपफेक सामग्रीको प्रचार ज्यादा छ। निर्वाचन आयोगको तथ्यांकअनुसार शुक्रबारसम्म ६१२ हानिकारक सूचना ट्र्याक गरिएको छ । ट्र्याक गरिएका त्यस्ता सूचनाउपर कारबाही प्रक्रिया अगाडि बढेको छ।
विधुतीय कारोबार ऐन २०६३ आकर्षित हुनेको हकमा कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको छ।
निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने सूचनालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ।
प्रेस काउन्सिल ऐन २०४८ आकर्षित हुने देखिएपछि काउन्सिलमै पठाइएको आयोगले जनाएको छ।