१०औँ राष्ट्रिय खेलकुद निर्वाचनपछि गरिने - Chaitanya News
  • 2026-03-29
  • 03:58:27
  • शनिबार,चैत्र १४, २०८२
  • १०औँ राष्ट्रिय खेलकुद निर्वाचनपछि गरिने

    १०औँ राष्ट्रिय खेलकुद निर्वाचनपछि गरिने

    काठमाडौँ– फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा गरिने भएको छ।

    हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले १०औँ राष्ट्रिय खेलकुद पुनः सार्ने निर्णय गरेको हो। पटक–पटक मिति तय हुँदै र सर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि कात्तिक २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले फागुन पहिलो साता गर्ने निर्णय गरेको थियो।

    त्यसअघि पछिल्लो पटक कर्णाली प्रदेशमा गत जेठ ३ देखि १० गतेसम्म आयोजना हुने गरी मिति तय गरिएको थियो।

    मिति सरेपनि १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिसकिएको छ। सरकारले मिति सरेपछि आर्थिक वर्ष २०८२,०८३ मा १०औँ आयोजनाका लागि ५४ करोड बजेट पनि विनियोजन गरेको थियो।

    १०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ। यस्तै लोगोमा सात रंग, चन्द्र र सूर्य झन्डा अंकीत रहेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टलसमेत सार्वजनिक गरेको थियो।

    दुई दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको पछिल्लो नवौँ संस्करण २०७९ सालमा गण्डकी प्रदेशको राजधानी पोखरामा भएको थियो।