रोल्पा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा २ हजार ३८९ कर्मचारी खटाइएको छ ।
मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख विनोद खतिवडाले जानकारी दिए।
निर्वाचनमा एक हजार ६२२ जना कर्मचारी खटाइएको र उनीहरुलाई आवश्यक अभिमुखीकरणसमेत दिइसकेको जानकारी उनले दिए।
फागुन ३ गतेदेखि जिल्लाका १० वटै स्थानीय तहका ७२ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। ‘मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिन स्वयंसेवक परिचालन गरेका छौं’, खतिवडाले भने।
शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्न सबै अग्रसरता हुनुपर्ने र त्यहीँ अनुरुप आफूहरुले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए। ‘रोल्पामा सबै मतदाताले शान्तिपूर्ण रूपमा मतदान गरेर चुनाव सम्पन्न गर्नुपर्छ भन्ने हो तर त्यसका लागि सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ र हामी लागि रहेका छौं’, क्षेत्रीले भने।
एक हजार २९ जना निर्वाचन प्रहरी, ६१० जना नेपाल प्रहरी, ३ सय जना सशस्त्र प्रहरी र ४०० जना नेपाली सेना गरी कुल २ हजार ३ सय ८९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ।
अहिले रोल्पाका १० वटै स्थानीय तहमा निर्वाचन प्रहरी,नेपाल प्रहरी,शस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको प्रशासनले बताएको छ।
जिल्लामा कुल १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका छन् । तीमध्ये ७४ हजार ६ सय ९० पुरुष र ७४ हजार ९०७ महिला मतदाता छन्।
निर्वाचनका लागि २ अस्थायी मतदान केन्द्र, १८० स्थायी मतदान केन्द्र र ८६ मतदानस्थल तोकिएका छन्।