प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानमा नमूना मतदान र मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास - Chaitanya News
  • 2026-04-26
  • 23:09:15
  • आइतबार,बैशाख १३, २०८३
  • प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानमा नमूना मतदान र मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास

    प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानमा नमूना मतदान र मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास

    काठमाडौं– सल्यानमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले नमूना मतदान तथा मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास गरिएको छ।

    निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित जिल्लाको सदरमुकाम खलङ्गास्थित लुहापिङमा उक्त अभ्यास सम्पन्न गरिएको हो।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा सम्पन्न अभ्यासमा सुरक्षा निकायहरूले प्रत्यक्ष अभ्यासमार्फत आ–आफ्नो भूमिका प्रदर्शन गरेका थिए।

    कार्यक्रममा नेपाल सेनाअन्तर्गतको सिद्धबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको सक्रिय सहभागिता रहेको थियो।

    संयुक्त अभ्यासमार्फत मतदान केन्द्रमा हुन सक्ने सम्भावित जोखिम, विवाद तथा भीड व्यवस्थापनका उपायहरूलाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको थियो।

    नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलमा विवाद उत्पन्न हुँदा संयमित ढंगले भीड नियन्त्रण गर्ने, संवादमार्फत समस्या समाधान गर्ने, आवश्यक परे न्यूनतम बल प्रयोग गर्ने तथा मतदान प्रक्रिया अवरुद्ध हुन नदिने रणनीति देखाएका थिए।

    त्यसैगरी सशस्त्र प्रहरी बल र नेपाली सेनाले मतदान केन्द्रभित्र हुलदंगा हुन नदिन अपनाइने सुरक्षा घेरा, संवेदनशील क्षेत्रको निगरानी तथा आकस्मिक अवस्थाको तत्काल प्रतिकारसम्बन्धी अभ्यास प्रस्तुत गरेका थिए।

    मतदान केन्द्रमा आइपर्ने विभिन्न समस्यालाई व्यवहारिक ज्ञानमार्फत समाधान गर्न सहज होस् भन्ने उद्देश्यले अभ्यास गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेम केसीले जानकारी दिए।

    नमूना मतदान अभ्यासमा सहभागी निर्वाचन प्रहरीलाई महिला, पुरुष, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा सुत्केरीप्रति गर्नुपर्ने व्यवहारका विषयमा समेत व्यवहारिक ज्ञान दिइएको उनले बताए।

    त्यस्तै, सदरमुकाम खलङ्गास्थित लुहापिङमा आयोजना गरिएको कार्यक्रममा नमूना मतदानसमेत गरिएको थियो। महिला र पुरुषलाई छुट्टाछुट्टै लाइनमा राखेर गरिएको नमूना मतदानमा १५ जना महिला र १५ जना पुरुष गरी कुल ३० जनाले मतदान गरेका थिए।

    मतदानमा सहभागीप्रति गरिनुपर्ने व्यवहार तथा सुरक्षामा खटिंदा जान्नुपर्ने विषयलाई प्रभावकारी बनाउन नमुना मतदान अभ्यास गराइएको जिल्ला निर्वाचन अधिकृत धिरेन्द्र भण्डारीले बताए।

    एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा एक हजार ७ सयभन्दा बढी निर्वाचन प्रहरी र ७ सयभन्दा बढी जनपद प्रहरी खटाइने छ। यसका साथै सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि निर्वाचन सुरक्षामा भूमिका निर्वाह गर्ने छन्।

    जिल्लाभर कुल ११७ मतदानस्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएका छन्। तीमध्ये ४३ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन्। भौगोलिक विकटता, सम्भावित सुरक्षा चुनौती तथा विगतका निर्वाचन अनुभवका आधारमा ती स्थललाई अतिसंवेदनशील वर्गमा राखिएको हो।

    जिल्लाका १७ वटा मतदानस्थल मात्र सामान्य श्रेणीमा पर्दा बाँकी अधिकांश स्थल संवेदनशील तथा अतिसंवेदनशील सूचीमा रहेका छन्।