प्रहरीले सूचना सम्प्रेषण गर्दा सत्य र पारदर्शी हुनुपर्छ : केन्द्रीय प्रवक्ता काफ्ले - Chaitanya News
  • 2026-04-27
  • 05:11:41
  • आइतबार,बैशाख १३, २०८३
  • प्रहरीले सूचना सम्प्रेषण गर्दा सत्य र पारदर्शी हुनुपर्छ : केन्द्रीय प्रवक्ता काफ्ले

    प्रहरीले सूचना सम्प्रेषण गर्दा सत्य र पारदर्शी हुनुपर्छ : केन्द्रीय प्रवक्ता काफ्ले

    काठमाडौँ– नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले देशभरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सूचना सम्प्रेषण गर्दा सत्य, वस्तुनिष्ठ र पारदर्शी हुन निर्देशन दिएका छन्।

    आज (मंगलबार) नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित अन्तरक्रियामा उनले सञ्चारकर्मी र नागरिकलाई प्रवाह गरिने सूचनाले संगठनको जनविश्वास र साख बढाउनुपर्नेमा जोड दिएका हुन्।

    डीआईजी काफ्लेले सूचनाको हक सम्बन्धी ऐन २०६४, प्रहरीको सञ्चार माध्यम सम्बन्धी नीति २०६० र सामाजिक सञ्जाल प्रयोगका प्रावधानहरूबारे प्रहरी अधिकृतहरूलाई विस्तृत जानकारी गराएका छन्। विशेषगरी सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्ने बताउँदै उनले संगठनको छविमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न निर्देशन दिए।

    कार्यक्रममा पत्रकार सम्मेलन गर्दा वा प्रेस विज्ञप्ति निकाल्दा अपनाउनुपर्ने सावधानी र संवैधानिक प्रावधानहरूबारे समेत छलफल भएको थियो।

    अन्तरक्रियामा काठमाडौँ उपत्यकाका विभिन्न ब्यूरो, ट्राफिक प्रहरी कार्यालय, विमानस्थल सुरक्षा कार्यालयका साथै सातै प्रदेशका प्रहरी प्रवक्ता र सूचना अधिकारीहरूको सहभागिता रहेको थियो।

    आम नागरिकमा सकारात्मक सोच र जनाधार वृद्धि गर्न सूचना सम्प्रेषणको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबै कार्यालयका प्रवक्ताहरूलाई जिम्मेवार बन्न केन्द्रीय प्रवक्ताले विशेष आग्रह गरे।