काठमाडौं– सुदूरपश्चिमको बभलाङ जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चार जना उम्मेदवार फरक–फरक राजनीतिक पृष्ठभूमि, विचारधारा र एजेन्डासहित जनताको दैलो–दैलोमा पुगिरहेका छन्। सबैका भाषणमा विकास, समृद्धि र रोजगारीका प्रतिबद्धता छन् फरक भने दृष्टिकोण, शैली र विश्वासको आधारमा देखिन्छ।
अनुभव बोकेका पुराना अनुहारदेखि नयाँ ऊर्जा लिएर आएका उम्मेदवारसम्म सबैले बझाङको पिछडापन अन्त्य गर्ने प्रतिबद्धता जनाइरहेका छन्। तर मतदाताको मनमा अब भाषणभन्दा बढी परिणामको अपेक्षा छ। अघिल्ला चुनावका वाचा, अधुरा योजना र राजनीतिक अस्थिरताको स्मृति अझै ताजा छ।
सबैका एजेन्डामा विकास, समृद्धि र रोजगारी समान रूपमा उच्चारण भइरहे पनि प्रश्न एउटै छ—कसले विश्वसनीय रूपमा कार्यान्वयन गर्न सक्छ ?
नेकपा एमालेका उम्मेदवार ऐन महर:
![]()
नेकपा एमालेका उम्मेदवार ऐन महर बझाङमा परिचित नाम हुन्। विद्यार्थी राजनीतिबाट उदाएका उनी अनेरास्ववियु हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म पुगेका नेता हुन्। त्रिचन्द्र क्याम्पसबाट विज्ञान र समाजशास्त्र अध्ययन गरेका महर हाल उच्च अध्ययनमा पनि संलग्न छन्।
संगठनमा लामो समय बिताएकाले महर जिल्लाका अधिकांश गाउँ–बस्तीमा पुगिसकेका छन्। उनको एजेन्डा महत्वाकांक्षी छ,सदरमुकामदेखि सबै पालिका केन्द्रसम्म पक्की सडक, धुलीदेखि ताक्लाकोटसम्म सुरुङमार्ग, १५० शैयाको सुविधा सम्पन्न जिल्ला अस्पताल, प्रत्येक पालिकामा आधारभूत अस्पताल, आवासीय विद्यालय, जलविद्युत् आयोजना, जडीबुटी प्रशोधन केन्द्र र खानी उत्खनन। चीनसँग जोडिएको ताक्लाकोट नाकालाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने उनको प्राथमिकतामा छ।
“मेरो प्रतिस्पर्धी व्यक्ति होइन, बझाङको गरिबी र पछौटेपन हो,” महरले चुनावी सभामा दोहोर्याइरहेका छन्। एमालेको संगठित संरचना र अघिल्लो निर्वाचनको मतपरिणामका आधारमा उनलाई बलियो दाबेदारका रूपमा हेरिएको छ। उनले पाँच वर्षभित्र काम गरेर देखाउन नसके पुनः भोट माग्न नआउने दाबीसमेत गरेका छन्।
रास्वपाका उम्मेदवार शैलेस कुमार सिंह:
![]()
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३८ वर्षीय उम्मेदवार शैलेस कुमार सिंह राजनीतिमा नयाँ अनुहार हुन्। बैंकिङ करिअर र निजी व्यवसाय छाडेर राजनीतिमा होमिएका सिंह आफूलाई “काम गरेर देखाउने उम्मेदवार” भन्छन्।
उनको प्राथमिकता सडक, स्वास्थ्य, शिक्षा र रोजगारी हो। जडीबुटी प्रशोधन केन्द्र, माछापालन, मोबाइल हेल्थ क्याम्प, ई–लाइब्रेरी जस्ता योजनालाई उनले व्यावहारिक समाधानका रूपमा अघि सारेका छन्। “गफ होइन, काम गर्न आएको हुँ,” भन्ने उनको शैली युवापुस्तामाझ आकर्षणको विषय बनेको छ।
रास्वपा बझाङमा संगठनका हिसाबले कमजोर मानिए पनि पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको छ। पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा पार्टिका वरिष्ट नेता बालेन्द्र शाह (बालेन) प्रति युवाहरूमा देखिएको भरोसाले सिंहलाई मनोवैज्ञानिक बल दिएको छ।
उनले पुराना दलप्रति असन्तुष्टि बढिरहेको तर्क गर्दै “यसपटक परिवर्तनको मत” मागिरहेका छन्। नयाँ ऊर्जा र जोस देखिए पनि राजनीतिक अनुभवको अभाव उनको चुनौतीका रूपमा चर्चा भइरहेको छ।
कांग्रेसका उम्मेदवार प्रकाश रसायली स्नेही:
![]()
नेपाली कांग्रेस का उम्मेदवार प्रकाश रसायली स्नेही पूर्व सांसद हुन्। दलित समुदायबाट उदाएका स्नेही विद्यार्थी राजनीतिबाट खारिएका नेता मानिन्छन्। नेविसंघ हुँदै पार्टीको केन्द्रीय तहसम्म पुगेका उनी २०७४ सालमा समानुपातिक सांसद बनेका थिए। संसदको उद्योग, वाणिज्य तथा श्रम समितिमा सक्रिय भूमिका खेलेको उनी निकटस्थहरू बताउँछन्।
यसपटक प्रत्यक्ष निर्वाचनमा उत्रिएका स्नेहीको मुख्य आधार कांग्रेसको परम्परागत मत बैंक र स्थानीय तहसम्म फैलिएको संगठन हो। उनको विकास दृष्टिकोणमा सेती लोकमार्ग स्तरोन्नति, ताक्लाकोट नाकासँग सडक सञ्जाल विस्तार, जलविद्युत्, पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सुधार छन्।
“म कुनै गुटको उम्मेदवार होइन, सिङ्गो कांग्रेसको उम्मेदवार हुँ,” स्नेहीको दाबी छ। तर प्रश्न उठिरहेको छ—पहिले सांसद भइसकेका नेताले यसपटक किन र केका लागि फेरि अवसर पाउनुपर्छरु यही प्रश्नको उत्तर दिन उनी जनताको बीचमा सक्रिय देखिन्छन्।
मिनबहादुर कुनवार:
![]()
जनयुद्धकालदेखि राजनीतिमा सक्रिय मिनबहादुर कुनवार नेकपा एकीकरणपछि जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका नेता हुन्। २०५७ सालदेखि सशस्त्र आन्दोलनमा संलग्न उनी शान्ति प्रक्रियापछि पनि पार्टी राजनीतिमा निरन्तर सक्रिय छन्।
उनको एजेन्डा जलस्रोत उपयोग, जडीबुटी र कृषि उत्पादन, पर्यटन विकास र समाजवादको आधार निर्माणमा केन्द्रित छ। “कम्युनिष्ट आन्दोलन एकताबद्ध भए विकासको गति तीव्र हुन्छ,” उनी भन्छन्।
कम्युनिष्ट मत विभाजन नहुने हो भने उनी निर्णायक भूमिका खेल्न सक्ने आकलन गरिन्छ। संगठन बलियो भए पनि मत विभाजन नै उनको सबैभन्दा ठूलो चुनौती हो।
बझाङको चुनावी मैदानमा सात उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा ठूला दल र नयाँ शक्तिबीच देखिए पनि मतदाताको मनस्थिति निर्णायक हुनेछ। सबै उम्मेदवारका भाषणमा सडक, स्वास्थ्य, शिक्षा, जलविद्युत्, रोजगारी र ताक्लाकोट नाकाको विकास समान प्राथमिकतामा छन्।
तर प्रश्न एउटै छ,कसले विश्वसनीय रूपमा कार्यान्वयन गर्न सक्छरु अनुभव कि ऊर्जा ? संगठन कि वैकल्पिक सोच ? निर्वाचन नजिकिँदै गर्दा बझाङका मतदाता भाषणभन्दा बढी व्यवहार र विगतको काम मूल्यांकन गर्ने तयारीमा देखिन्छन्। यो चुनाव व्यक्ति र पार्टीको मात्र प्रतिस्पर्धा नभई विकासको मोडेल, राजनीतिक संस्कार र नेतृत्व क्षमताको प्रत्यक्ष परीक्षा बन्ने अपेक्षा गरिएको छ।