सुशासन, सामाजिक न्याय र समृद्धि नै मुलुकको चाहना : राष्ट्रपति पौडेल - Chaitanya News
  • 2026-04-27
  • 13:02:30
  • सोमबार,बैशाख १४, २०८३
  • सुशासन, सामाजिक न्याय र समृद्धि नै मुलुकको चाहना : राष्ट्रपति पौडेल

    सुशासन, सामाजिक न्याय र समृद्धि नै मुलुकको चाहना : राष्ट्रपति पौडेल

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन्। आज (बुधबार)अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

    ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले भने, ‘सहज र सरल तरिकाले जनतामा सेवा प्रवाह तथा सुशासनमार्फत देशको समृद्धि नै हाम्रो संविधान र लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो।’

    संविधान र व्यवस्थाले राखेको यही अभिष्टलाई पूरा गर्न सम्पूर्ण ध्यान केन्द्रित होस् भनेरै बेलाबेलामा आवाज उठ्ने गरेको पनि उनले बताए। ‘भर्खरै युवा पुस्ताले संघर्षमार्फत आफ्नो त्यही चाहना प्रकट गरेका हुन्, भन्ने पनि हामीले नबिर्सौँ,’ राष्ट्रपति पौडेलले भने।

    लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि नै मुलुकको चाहना रहेको उनले बताए। उनले अगाडि भने, ‘सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन सकिँदैन। जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य सर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो।’

    लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचार छानबिनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।

    ‘अख्तियार दुरुपयोग केवल कानुन उलंघन मात्र होइन । यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि हो । यसले आर्थिक क्षति वा नैतिक विचलन भन्दा धैरे पर पुगेर राज्य र नागरिक बिचको भरोसाको सेतुमा चोट पुर्‍याउँछ,’ उनले भने । भ्रष्टाचारले लोकतन्त्रको आधारभुत मूल्यलाई क्षति पुर्‍याउने पनि उनले बताए।