सेवा लिन राज्यको ढोकामा जानै नपर्ने गगन थापाको योजना - Chaitanya News
  • 2026-06-20
  • 22:53:26
  • शनिबार,आषाढ ०६, २०८३
  • सेवा लिन राज्यको ढोकामा जानै नपर्ने गगन थापाको योजना

    सेवा लिन राज्यको ढोकामा जानै नपर्ने गगन थापाको योजना

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकले सेवा लिन खोज्दा सकेसम्म राज्यको ढोकासम्म जानै नपर्ने अवस्था सिर्जना गर्ने योजना बताएका छन्।

    आज (बुधबार) एक भिडिओ वक्तव्य जारी गर्दै उनले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजनामा भएको बताएका थिए।

    राज्य–सरकार आफै नागरिकको घरमा सेवा दिन पुगोस् वा यदि जानैपर्ने परे एकपटक गए पुग्ने खालको योजना उनले बनाएका छन्।

    उनले भने, ‘नापी–मालपोतको कार्यालयमा जाँदैगर्दा होस् वा पासपोर्ट–लाइसेन्स लिन जाँदा होस्, युनिभर्सिटीको सर्टिफिकेट लिन जाँदा होस्। लामो लाइन बस्नुपरेको, पालो कहिले आउँछ भनेर कुरेको, टन्न कागजात लिएर जाँदा पनि अन्तिममा यो कागजात मिलेन भनेको। कहिलेकाही सेवा लिन टेबुलमुनिबाट अत्यन्त शुल्क तिर्नुपरेको ।यस्तैयस्तै खालको अनुभव धेरैले बोकेका छौँ। यस्तो अवस्था हटाउन सकिन्छ। हामीसँग योजना छ।’

    यो देशमा केही पनि भएन भन्ने नभएको उनले बताए। आफैले स्वास्थ्य मन्त्रालयलमा काम गर्दाका केही फरक अनुभवले सुधारको संकेत दिएको पनि उनले दाबी गरे।

    यस्तोमा आफ्नो अनुभवमा सरकारले ठिक तवरले काम गरे समस्या समाधान गर्न सकिने अफूले बुझेको उनले बताए। ‘केही गर्न सकिन्छ भनेर स्पष्ट योजनाका साथ म आएको छु,’ उनले भने, ‘हामीहरू स्पष्ट छौँ–मिनिमम गभर्नमेन्ट बडी, म्याक्सिमम गभर्नेन्स।’