काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
आज (बिहिवार) बिहान नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने दाबी गरेका हुन्।
अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको जिकीर गरेका थिए।
साथै उत्साहका साथ निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन उनले निर्देशन दिए।
सहसंयोजक माधव कुमार नेपालले पनि बैठकलाई सम्बोधन गर्दै विभिन्न दल र नेताहरुसँग छलफल भए पनि आफूहरु एक्लै निर्वाचन लड्ने बताएका थिए । ‘राजनीतिमा छलफल सम्वाद हुनसक्छन् तर हामी एक्लै उत्साहका साथ चुनाव लडेर जित्ने छौं’ नेपालले भनेका थिए।
जुम बैठक आज बिहान ८ बजेदेखि करिब एक घण्टासम्म चलेको थियो । बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरु सहभागी थिए।