काठमाडौँ– नेकपा एमाले नेता ईश्वर पोखरेल काठमाडौँ–५ बाट उम्मेदवार छन्। उनले संविधान संशोधनका लागि उम्मेदवारी दिएको भन्दै सुझाव मागेका छन्। आफू प्रतिवद्धतापत्र निर्माणको क्रममा रहेको बताउँदै नेता पोखरेलले सुझावको आह्वान गरेका हुन्।
पोखरेल २०५६ सालदेखि नै त्यही क्षेत्रबाटै उम्मेदवार रहँदै आएका छन्।
पोखरेलले बिहीबार बिहान फेसबुकमार्फत सुझाव माग्दै नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणमा अघि बढ्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको दाबी गरेका छन्।
‘यस क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु,’ पोखरेलले भनेका छन्, ‘तपाईँको सिर्जनात्मक र उपयोगी सुझावले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र वस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु।’