काठमाडौं– नेपाली बजारमा पछिल्ला केही महिनायता सुनको मूल्यले लगातार नयाँ–नयाँ रेकर्ड कायम गर्दै आकाश छोइरहेकाे छ। कहिल्यै नसोचिएको उचाइमा पुगेको सुनको मूल्यले आम उपभोक्ता मात्रै होइन, सुनचाँदी व्यवसायीसमेतलाई अचम्मित बनाएको छ। विवाह, व्रतबन्ध, चाडपर्व तथा लगानीका लागि अनिवार्यजस्तै मानिने सुन आज धेरैको पहुँचबाहिर जान थालेको छ।
एकातिर अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव, अर्कोतिर नेपालभित्रको कर नीति, आयात प्रणाली, मुद्रा विनिमय दर र राजनीतिक–आर्थिक अनिश्चितताले सुनको मूल्यलाई अस्वाभाविक रूपमा माथि पुर्याइरहेको जानकारहरू बताउँछन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) नेपाली बजारमा छापावाल सुनको मूल्य ९ लाख १९ हजार रुपैयाँ नजिक पुगेको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो। तर, बुधवार बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ।
आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ।
यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारको असर:
सुनको मूल्य निर्धारणको मूल आधार भनेकै अन्तर्राष्ट्रिय बजार हो। लन्डन बुलियन मार्केट र न्यूयोर्क कमोडिटी एक्सचेञ्जमा हुने कारोबारले विश्वभर सुनको मूल्य निर्धारण गर्छ। पछिल्लो समय अमेरिका, युरोप र मध्यपूर्वमा देखिएको भू–राजनीतिक तनाव, रुस–युक्रेन युद्ध, गाजा संकट, तथा विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितताका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन्।
अर्थशास्त्रीहरूका अनुसार जब विश्व अर्थतन्त्र अस्थिर बन्छ, सेयर बजार ओरालो लाग्छ र मुद्राको मूल्य घट्छ, तब सुन “सेफ हेभेन” का रूपमा अगाडि आउँछ। यही कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ, जसको प्रत्यक्ष असर नेपालजस्तो आयातमा निर्भर मुलुकमा पर्नु स्वाभाविक हो।
डलर महँगो, सुन झनै महँगो:
नेपालमा सुन आयात अमेरिकी डलरमा गरिन्छ। पछिल्लो समय डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै जाँदा सुनको लागत अझ बढेको छ। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार डलरको विनिमय दर निरन्तर बढ्दो क्रममा छ। डलर महँगो हुँदा सुन किन्न थप रुपैयाँ खर्चिनुपर्ने हुन्छ, जसको भार अन्ततः उपभोक्तामाथि नै पर्छ।
सरकार निरीह:
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य बढ्दै जाँदा सुन आयात झनै महँगो भएको छ। यहाँ प्रश्न उठ्छ—डलर महँगो हुनुमा सरकारको भूमिका के हो?
अर्थविद्हरूका अनुसार आयातमुखी अर्थतन्त्र, कमजोर निर्यात नीति र राजनीतिक अस्थिरताका कारण डलरको माग बढेको छ। सरकार र राजनीतिज्ञहरूले दीर्घकालीन आर्थिक सुधारभन्दा पनि तत्कालीन राजनीतिक स्वार्थलाई प्राथमिकता दिँदा मुलुकको मुद्रा थप कमजोर बन्दै गएको आलोचना हुन्छ।
चुनावी भाषणमा “जनताको जीवनस्तर” सुधार्ने कुरा गर्ने नेताहरू सत्ता पुगेपछि सुनजस्ता प्रत्यक्ष जनजीवनसँग जोडिएका विषयमा मौन बस्ने प्रवृत्ति देखिन्छ।
कतिपय अवस्थामा सुनको उच्च मूल्य र तस्करीबीचको सम्बन्धबारे प्रश्न उठ्दा पनि राजनीतिक इच्छाशक्ति कमजोर देखिएको छ।
तस्करी र कालोबजारीलाई मलजल:
उच्च कर र महँगो मूल्यकै कारण नेपालमा अवैध सुन कारोबार फस्टाउने जोखिम बढेको छ। सीमावर्ती क्षेत्रबाट तस्करी बढ्दा राज्यले राजस्व गुमाउनुका साथै बजार असन्तुलित हुने खतरा छ।
कर र भन्सार शुल्कको भार:
नेपालमा सुन आयात गर्दा लाग्ने भन्सार शुल्क, भ्याट र अन्य करहरूले पनि मूल्य वृद्धिमा ठूलो भूमिका खेलेका छन्। हाल सुनमा लाग्ने कर तथा शुल्क दक्षिण एसियाकै तुलनामा उच्च रहेको व्यवसायीहरूको गुनासो छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कर संरचना परिमार्जन नगरिएसम्म सुनको मूल्य सहज हुने सम्भावना कम छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली भन्छन्, “अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु हाम्रो नियन्त्रणमा छैन। तर नेपालमा कर, भन्सार शुल्क र आयात प्रणालीलाई समयअनुकूल परिमार्जन गर्न सकियो भने मूल्य वृद्धिको दबाब केही हदसम्म कम गर्न सकिन्छ। अहिले व्यवसायीभन्दा बढी उपभोक्ता मारमा परेका छन्।”
उनका अनुसार उच्च मूल्यकै कारण सुनको कारोबार घटेको छ। पहिले दैनिक तोलामा कारोबार हुने बजार अहिले ग्राममा सीमित हुन थालेको छ।
उपभोक्ताको मनोविज्ञान बदलिँदै
सुनको मूल्य आकासिँदा उपभोक्ताको सोच र व्यवहारमा पनि परिवर्तन आएको देखिन्छ। पहिले गहना किन्न उत्साहित हुने ग्राहकहरू अहिले ‘हेरेर फर्किने’ अवस्थामा पुगेका छन्।
काठमाडौंको असन बजारमा सुन किन्न पुगेकी सीता थापा भन्छिन्,“छोरीको बिहे आउँदैछ भनेर गहना बनाउन आएकी हुँ। तर मूल्य सुनेपछि त छक्क परें। पहिले सोचेजति गहना बनाउन अब सम्भव देखिँदैन। चाहिँदाजति मात्रै बनाउने सोच बनाएकी छु।”
बानेश्वरका रामबहादुर खड्का सुनलाई लगानीका रूपमा हेर्थे। तर अहिले उनी पनि अन्योलमा छन्।“पहिले सुन किन्नु सुरक्षित लगानी लाग्थ्यो। तर अहिले त किन्नै डर लाग्छ। यति महँगोमा किनेपछि घट्यो भने के गर्ने? आम्दानी बढेको छैन, तर सुनको मूल्य भने आकाशिएको छ।”
यस्तै, बानेश्वरमा नै घर भएकी अनिता श्रेष्ठ भन्छिन्, “चाडपर्वमा अलिकति सुन किनेर राख्ने बानी थियो। अहिले त चाँदीमै चित्त बुझाउनुपर्ने अवस्था आएको छ। सुन त सपना जस्तै हुन थाल्यो।”
सुनको माग घट्दै, चाँदीतर्फ आकर्षण
सुनको मूल्य बढेसँगै बजारमा चाँदीको माग भने बढ्न थालेको व्यवसायीहरू बताउँछन्। कम आय भएका उपभोक्ताहरू सुनको सट्टा चाँदीका गहना रोज्न थालेका छन्। यसले सुनचाँदी व्यवसायको संरचनामै परिवर्तन ल्याउने संकेत देखिएको छ।
नेपाली बजारमा सुनको मूल्य आकासिनु केवल एउटा कारणको परिणाम होइन। अन्तर्राष्ट्रिय राजनीतिक–आर्थिक अस्थिरता, डलरको विनिमय दर, उच्च कर संरचना, आयातमा निर्भरता र उपभोक्ता मनोविज्ञान—यी सबैको संयुक्त प्रभावले आज सुन आम नेपालीको पहुँचबाहिर पुग्दैछ।
जबसम्म विश्व बजार स्थिर हुँदैन र नेपालभित्रको नीतिगत सुधार हुँदैन, तबसम्म सुनको मूल्य “आकाश छुने” क्रम रोकिने संकेत कमै देखिन्छ। यस्तो अवस्थामा उपभोक्ता, व्यवसायी र सरकार—तीनै पक्षबीच सन्तुलन र दीर्घकालीन सोच आवश्यक देखिन्छ।