भक्तपुर– मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउन एक दर्जन बढी डोजर प्रयोग गरिएको छ।
आज बिहानैदेखि एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन थालिएको हो। हिजो साँझ डोजरमाथि आक्रमण भएपछि आज बिहान सुरक्षा व्यवस्था कडा पारेर टहरा हटाउन थालिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
यस बस्तीमा बस्तीमा सात सय ७७ घर टहरा छन्। शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए। त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो। आज भने शान्तिपूर्ण रूपमा डोजर चलाइएको छ।
सो क्रममा सुरक्षाकर्मीहरूले समान सार्न तथा बिरामीको उद्धार गर्न सहयोग गरिरहेका छन्।