प्राकृतिक तथा मानवीय विपदबाट साढे नौ महिनामा ४३१ जनाको मृत्यु - Chaitanya News
  • 2026-04-26
  • 17:42:28
  • आइतबार,बैशाख १३, २०८३
  • प्राकृतिक तथा मानवीय विपदबाट साढे नौ महिनामा ४३१ जनाको मृत्यु

    प्राकृतिक तथा मानवीय विपदबाट साढे नौ महिनामा ४३१ जनाको मृत्यु

    काठमाडौँ– पछिल्ला करिब साढे नौ महिनाको अवधिमा देशका विभिन्न भागमा घटेका विपद्का घटनाका कारण ४३१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार अनुसार २०८२ वैशाख १ गतेदेखि माघ १२ गतेसम्म ४३१ जनाको मृत्यु भएको हो।

    यस अवधिमा नेपालभर ६ हजार ११४ वटा विपद्का घटना अभिलेखमा आएका छन्। ती घटनामा परेर एक हजार ६७१ जना घाइते भएका छन् भने ३८ जना अझै बेपत्ता रहेका छन्।

    मृत्यु हुनेमध्ये सबैभन्दा धेरै सर्पदंशका कारण देखिएको छ। सर्पको टोकाइबाट मात्रै ९७ जनाले ज्यान गुमाएका छन्। त्यसपछि आगलागीबाट ७५, पहिरोबाट ७१, चट्याङ लागेर ४४, जंगली तथा अन्य जनावरको आक्रमणबाट ४३ र बाढीका कारण ३७ जनाको मृत्यु भएको छ। यस्तै लेक लागेर ३५, हावाहुरीबाट ८, अत्यधिक वर्षाबाट ७, हिम पहिरोबाट ६ र वन डढेलोबाट एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

    बेपत्ताको अवस्थातर्फ हेर्दा बाढीका घटनामा २७ जना, पहिरो र हिम पहिरोमा समान ५(५ जना तथा जनावरको आक्रमणमा एक जना सम्पर्कविहीन रहेका छन्।

    विपद्का यी घटनाबाट करिब साढे नौ महिनाको अवधिमा ११ हजार ७३२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ।