काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वअर्थमन्त्रीहरू चुनावी मैदानमा होमिएका छन् ।
यसपालि पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराईले पुनः चुनावमा होमिने निर्णय गरेका छन्। यसअघि चुनाव नउठ्ने घोषणा गरेका उनी गोरखा–२ बाट निर्वाचनमा होमिएका हुन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनी निर्वाचनमा होमिएका हुन्। यो क्षेत्रमा गत निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० का लागि आफ्नो क्षेत्र छाडिदिएका थिए।
काङ्ग्रेसबाट पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट–१ बाट निर्वाचन लड्दैछन्। यस क्षेत्रमा गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए।
अर्का अर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन भने रोल्पामा निर्वाचन लड्दैछन्। उनी तेस्रो पटक रोल्पाबाट उम्मेदवार बनेका हुन्। यसअघि उनी २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए।
एमालेबाट पटक–पटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल यसपालि रुपन्देही–२ बाट निर्वाचनमा होमिँदैछन्। यसअघि उनी पाल्पाबाट उठ्ने तय भएको थियो। पछि चर्को विरोध भएपछि एमालेले उनलाई रुपन्देहीबाटै उठाउने निर्णय गरेको हो।
पौडेलले यो क्षेत्रमा २०५६ सालदेखि नै निर्वाचन लड्दै आएका छन्। उनी गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। पटक(पटक गरी उनी ८ पटक मन्त्री हुँदा धेरै समय अर्थ मन्त्रालयमा बिताएका छन्।
पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले यसपालि सुनसरी–४ बाट निर्वाचन लड्दैछन्। सुनसरी–४ मा यसअघि वाम गठबन्धनलाई हराउँदै उनी विजयी भएका थिए। सोही क्षेत्रमा कार्कीलाई कांग्रेसले पुनः टिकट दिएको हो।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दिने तयारीमा छन्। प्रचण्डसँग अलग बनेका उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। रुकम पश्चिमबाट उनी चार पटक विजयी भइसकेका छन्।
कांग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री डा। रामशरण महत स्वास्थ्यका कारण अहिले सक्रिय राजनीतिमा छैनन्। यसअघि उनी उठ्ने गरेको क्षेत्रमा उनका भाइ प्रकाशशरण महतले टिकट पाएका छन्। त्यस्तै, कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्य पनि यसपालि चुनावी प्रतिस्पर्धामा छैनन्।
वर्तमान सरकारका अर्थमन्त्री रामेश्वर खनालले अब सक्रिय राजनीति नगर्ने सार्वजनिक घोषणा गरिसकेका छन्। अर्थ सचिवबाट राजीनामा दिएपछि नेपाली कांग्रेस प्रवेश गरेका उनी पछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएका थिए। नयाँ शक्तिबाट बाहिरिएपछि उनी सक्रिय राजनीतिमा छैनन्।
यस्तै एमालेले यसपालि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई भने टिकट दिएन। यसअघि उनी चितवन–१ बाट पराजित भएका थिए। त्यसअघि भने उनी त्यही क्षेत्रबाट विजयी हुँदै आएका थिए।
एमालेका पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा चुनावी अभियानमा सहभागी छैनन्। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री कृष्णबहादुर महरा भने यस पटक चुनावी प्रतिस्पर्धामा छैनन्।
त्यसैगरी राप्रपा नेता तथा प्रकाशचन्द्र लोहनीले पनि टिकट नपाएपछि चुनावमा प्रतिस्पर्धा गरिरहेका छैनन्। २०७० को संविधानसभा निर्वाचन गराउने चुनावी सरकारका अर्थमन्त्री शंकरप्रसाद कोइराला पनि सक्रिय राजनीतिमा नभएका कारण चुनावी प्रतिस्पर्धामा छैनन्।