म्याग्दी– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले म्याग्दी पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गरेका हुन्।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका छन्। मन्त्री पदबाट राजीनामा दिएपछि उनी म्याग्दी पुगेका थिए भने त्यहीँबाट राजीनामा पत्र प्रधानमन्त्रीसमक्ष पठाएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको र उनले सम्हालेको मन्त्रालय राष्ट्रपतिले स्वयं प्रधानमन्त्रीलाई नै जिम्मेवारी तोकेका छन्।
लामो समय सामाजिक अभियान र प्रविधि विकाससँग जोडिँदै आएका पुनले यसपटक संसदीय राजनीतिमा प्रत्यक्ष सहभागिता जनाउने निर्णयसहित म्याग्दीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।