कांग्रेसका यी १० नेताले गरे निर्वाचन नलड्ने घोषणा - Chaitanya News
  • 2026-05-05
  • 16:38:46
  • मंगलबार,बैशाख २२, २०८३
  • कांग्रेसका यी १० नेताले गरे निर्वाचन नलड्ने घोषणा

    कांग्रेसका यी १० नेताले गरे निर्वाचन नलड्ने घोषणा

    काठमाडौँ– नेपाली कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। उनीहरूले निर्वाचन नलड्ने भन्दै सार्वजनिक रूपमा घोषणा गरेका छन्।

    अहिलेसम्म निर्वाचन नलड्ने घोषणा गर्नेमा विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्मा छन्। २०७४ सालमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। उनी आफू पार्टीको काममा लाग्ने सार्वजनिक रूपमा बताएका छन्।

    त्यस्तै हृदयराम थानी, दिलेन्द्र प्रसाद बडू, डा। नारायण खड्काले विज्ञप्ति जारी गरेर निर्वाचन नलड्ने बताएका छन्। उनीहरू सबै पूर्वमन्त्री र प्रत्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै पटक–पटक निर्वाचन जितेका नेतामा पर्छन्।

    बलबहादुर केसीले आफ्नो जिल्लाका सबै नेताहरूलाई राखेर निर्वाचन नलड्ने घोषणा गरेका छन्।

    काभ्रेका नेता शिव हुमागाईले पनि आइतबार डा। शेखर कोइराला समूहले आइतबार काठमाडौँमा गरेको भेलामा निर्वाचन नलड्ने घोषणा गरेका छन्।

    जेनजी आन्दोलन हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्री पाण्डेले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभा कतैतर्फ पनि उम्मेदवारी नदिने घोषणा गरेका छन्। गृहजिल्ला बाजुरा पुगेर पाण्डेले आफू उम्मेदवार नहुने बताएका हुन्। उनी २०७९ को चुनावमा बाजुराबाट निर्वाचित भएका थिए।

    पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति भएकाले निर्वाचन नलड्ने बताएका हुन्।

    त्यसअघि पाण्डे राष्ट्रिय सभा सदस्य थिए भने २०७० सालमा संविधानसभा सदस्य थिए।

    काठमाडौँको क्षेत्र नम्बर १० मा लगातार तीन वटा चुनाव जितेका राजेन्द्रकुमार केसीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन्। प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रियसभामा निर्वाचन नलड्ने उनको भनाइ छ। पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकोले आफूबाटै यो कामको अगुवाइ गरेको केसीले बताए।

    केसी २०७०, २०७४ र २०७९ मा काठमाडौँ १० बाट निर्वाचित भएका थिए।

    अर्का नेता जिपछिरिङ लामाले गृहजिल्ला दोलखाका नेता तथा कार्यकर्ताहरूलाई राखेर आफू निर्वाचन नलड्ने बताएका छन्। लामा २०६४ सालमा पहिलो संविधानसभामा सदस्य थिए। दोस्रो संविधान सभा निर्वाचन हुँदा २०७० सालमा उनी दोलखाबाट चुनाव लडे पनि पराजित भएका थिए।

    निर्वाचन नलड्ने घोषणा गर्नेमा पूर्व कृषिमन्त्रीसमेत रहेका धादिङ कांग्रेस सभापति रामनाथ अधिकारी पनि छन्। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा मन्त्री रहेका अधिकारीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए।

    अधिकारी २०७९ को प्रतिनिधि सभा चुनावमा धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।