सिजनमै घटेन तरकारीको मूल्य उपभोक्ता मारमा - Chaitanya News
  • 2026-04-26
  • 23:47:40
  • आइतबार,बैशाख १३, २०८३
  • सिजनमै घटेन तरकारीको मूल्य उपभोक्ता मारमा

    सिजनमै घटेन तरकारीको मूल्य उपभोक्ता मारमा

    काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरका भक्त प्रसाद नेपाल तरकारी किन्न घर छेउको पसलमा पुगे। त्यहाँ उनले विभिन्न तरकारीको मूल्य सोधे। सबै तरकारी महँगो भएपछि उनले सबैभन्दा सस्तो तरकारी किने तर मूल्यले सन्तुष्ट भने हुन सकेनन्। यो त तरकारीको सिजन हो भनिन्छ। तर, भाउ चाहिँ झन् बढेको जस्तो लाग्छ, उनी गुनासो गर्छन्, घरखर्च धान्नै गाह्रो भएको छ।

    भक्त प्रसाद जस्तै काठमाडौंका धेरै उपभोक्ताको अनुभव अहिले एउटै छ। वर्षायाम सकिएर पुस–माघ लाग्दा तरकारी उत्पादन बढ्ने, आपूर्ति सहज हुने र मूल्य घट्ने अपेक्षा गरिन्छ। तर, बजारमा देखिएको वास्तविकता भने फरक छ। सिजनमै तरकारीको भाउ नघट्नुले उपभोक्तालाई मात्र होइन, नीति निर्माण तहलाई समेत प्रश्नको घेरामा ल्याएको छ।

    बजारमा तरकारीको भाउ कति ?
    नयाँ बानेश्वर, कोटेश्वर, कालीमाटी र असन क्षेत्रका खुद्रा बजारमा अहिले गोलभेँडा प्रतिकिलो ८० देखि १२० रुपैयाँ, आलु प्रतिकिलो ६० देखि ७० रुपैयाँ, प्याज ८०देखि १०० रुपैयाँ आसपास, सागसब्जी ४०–६० रुपैयाँ र फूलकोपी, बन्दाकोपी जस्ता तरकारी १०० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेका छन्। केही तरकारी त सिजन हुँदाहुँदै पनि आयातित जत्तिकै महँगो देखिन्छन्।

    तरकारी किन्न आएकी बानेश्वरकै गृहिणी माया श्रेष्ठ भन्छिन्, हामीलाई सिजन भनेको सस्तो हुने समय हो भन्ने लाग्छ, तर बजारमा आएपछि त्यो कुरा मिल्दैन। दैनिक तरकारी किन्नै ५–६ सय रुपैयाँ खर्च हुन्छ।

    किन घटेन तरकारीको मूल्य ?

    तरकारी महँगिनुका कारण बहुआयामिक छन्। उत्पादन, ढुवानी, बिचौलिया, बजार व्यवस्थापन र सरकारी निगरानी सबै पक्ष यससँग जोडिएका छन्।

    कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठका अनुसार उत्पादन पर्याप्त भए पनि आपूर्ति प्रणाली कमजोर छ। कागजमा हेर्दा तरकारी उत्पादन बढेको देखिन्छ, तर त्यो उत्पादन बजारसम्म सस्तो र सहज रूपमा पुग्न सकेको छैन, उनी भन्छन्, ढुवानी लागत, इन्धनको मूल्य, मजदुरी र पोस्ट–हार्भेस्ट लस ण्कटानीपछि हुने नोक्सानी० ले मूल्य बढाएको छ।

    उनका अनुसार किसानले खेतमै सस्तोमा तरकारी बेचे पनि उपभोक्तासम्म आइपुग्दा मूल्य दोब्बर–तेब्बर हुने अवस्था छ। “बिचौलियाको संख्या धेरै छ, किसान र उपभोक्ता सीधै जोडिन सकेका छैनन्।

    नयाँ बानेश्वरमै तरकारी पसल सञ्चालन गर्दै आएका हरि बहादुर मगर उपभोक्ताको गुनासो बुझ्छन्, तर आफूहरू पनि समस्यामा रहेको बताउँछन्। हामीले किसानबाट सस्तोमा किन्न खोज्छौँ, तर ढुवानी खर्च, बजार भाडा र दैनिक खर्च जोडिँदा मूल्य बढाउनै पर्छ, उनी भन्छन्, सबै दोष पसलेलाई दिनु न्यायसंगत हुँदैन।

    त्यस्तै, कालीमाटी तरकारी बजार नजिकै पसल राखेका मोहम्मद अन्सारीका अनुसार थोक बजारमै मूल्य घटेको छैन। थोकमै महँगो छ भने खुद्रामा कसरी सस्तो बेच्नु रु, उनी प्रश्न गर्छन्, कहिलेकाहीँ तरकारी कुहिएर फाल्नुपर्छ, त्यो घाटा पनि मूल्यमा जोडिन्छ।

    किसानको अवस्था के छ ?

    तरकारी महँगो हुँदा किसानले धेरै नाफा कमाएको अनुमान गरिन्छ, तर वास्तविकता त्यति सरल छैन। तराई र पहाडी जिल्लाका धेरै किसानले उत्पादन लागत नै नउठ्ने गुनासो गरिरहेका छन्। मल, बीउ, विषादी, मजदुरी र सिंचाइ खर्च बढ्दै गएको छ। त्यसमा बजारसम्म पुर्‍याउने संरचना कमजोर हुँदा किसान सस्तोमा बेच्न बाध्य हुन्छन्।

    तरकारी विकास समितिका सुचना अधिकारी भन्छन्, किसानले खेतमै ३० रुपैयाँमा बेचेको तरकारी उपभोक्ताले ९० रुपैयाँमा किनिरहेको अवस्था छ। यो अन्तर कसरी घटाउने भन्नेमा हामी सोचिरहेका छौं।

    कोटेश्वरकी विद्यार्थी रेखा कार्की दैनिक खर्च धान्न गाह्रो भएको बताउँछिन्। उनी भन्छिन्, तरकारी महँगो छ। तरकारी नकिनेर बाहिरको खाना खानु परिरहेको छ, जुन स्वास्थ्यका लागि पनि राम्रो होइन।

    त्यस्तै, कलंकीका ज्येष्ठ नागरिक हरि प्रसाद अधिकारी भन्छन्, पहिले सिजनमा सागसब्जी सस्तो हुन्थ्यो। अहिले त पेन्सनले औषधि र तरकारी दुबै धान्न गाह्रो छ।

    सरकारी पहल कति प्रभावकारी ?

    सरकारले किसान बजार, सहकारीमार्फत बिक्री, र सिधा किसान–उपभोक्ता जोड्ने कार्यक्रम ल्याए पनि तिनको प्रभाव सीमित देखिन्छ। काठमाडौंका केही स्थानमा किसान बजार सञ्चालनमा छन्, तर संख्या र पहुँच पर्याप्त छैन।

    श्रेष्ठका भन्छन्, दीर्घकालीन समाधानका लागि शीत भण्डारण, आधुनिक ढुवानी, मूल्य सूचना प्रणाली र बिचौलिया नियन्त्रण गर्न हामीले आजश्य पहलहरु गरिरहेका छौं।

    तरकारी सिजन भए पनि भाउ नघट्नु केवल एक कारणको परिणाम होइन। उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण शृंखला अव्यवस्थित हुँदा यसको असर सीधै उपभोक्तामाथि परेको छ। किसानले उचित मूल्य पाएका छैनन्, पसले आफ्नै बाध्यता देखाउँछन् र उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन्। भक्त प्रसाद नेपालजस्ता उपभोक्ता अझै आशामा छन्, कुनै दिन सिजनको अर्थ साँच्चै सस्तो तरकारीसँग जोडियोस्। तर त्यो दिन आउनका लागि नीति, बजार र संरचनामा गहिरो सुधार आवश्यक देखिन्छ।