धान बाली उत्पादनमा गिरावट - Chaitanya News
  • 2026-05-01
  • 08:16:12
  • शुक्रबार,बैशाख १८, २०८३
  • काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२–८३ को प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को प्रारम्भिक अनुमान अनुसार, अर्थतन्त्र र खाद्य सुरक्षाको मुख्य आधार मानिएको धान बाली उत्पादनमा यस वर्ष गिरावट आएको छ।

    धान उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनै सूचकमा गत वर्षको तुलनामा कमी देखिएको छ।

    राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो विवरण अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान करिब २४.१६ प्रतिशत छ भने कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धान बालीले मात्रै करिब १२ प्रतिशत हिस्सा ओगटेको छ।

    यही उच्च महत्त्वका कारण धान उत्पादन तथ्यांकलाई योजनाविद्, शोधकर्ता र आमनागरिकले निकै चासोसाथ हेर्ने गरेका छन्।

    चालु आव धान बाली भित्र्याइएको कुल क्षेत्रफल १३ लाख ६७ हजार ७२ हेक्टर कायम भएको छ, जुन गत आव २०८१–८२ को तुलनामा ३.८ प्रतिशतले न्यून हो।

    गत वर्ष १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धान खेती गरिएको थियो। क्षेत्रफलमा आएको यो संकुचनसँगै कुल उत्पादनमा पनि ४.२० प्रतिशतले ह्रास आएको छ।

    गत वर्ष ५७ लाख ५५ हजार ४ सय ६७ टन धान उत्पादन भएकोमा यस वर्ष ५५ लाख ५ हजार १ सय २६ टनमात्र उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ

    यस्तै प्रतिहेक्टर उत्पादकत्व पनि गत वर्ष ४.१९ टनबाट १.१६ प्रतिशत घटेर ४.१४ टनमा सीमित हुन पुगेको छ।

    धान बाली क्षेत्रफल र उत्पादन घट्नुमा मन्त्रालयले बहुआयामिक कारण औँल्याएको छ। विशेषगरी पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको आकर्षणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको छ भने कृषक धान बाली छाडेर फलफूल तथा नगदे बालीतर्फ आकर्षित हुनुलाई पनि एक कारण मानिएको छ।

    तराई तथा सहरी क्षेत्रमा बढ्दो आप्रवासनका कारण खेतीयोग्य जमिन खण्डीकरण भई औद्योगिक र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुनाले धान खेती क्षेत्रफल खुम्चिएको छ।

    यसबाहेक मधेस प्रदेशमा धान लगाउने मुख्य समयमा परेको खडेरीले क्षेत्रफलमा ठूलो असर पारेको छ भने उन्नत बिउ र मलखाद उपलब्धता पर्याप्त हुँदाहुँदै प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको मन्त्रालयको निष्कर्ष छ।

    यस वर्ष उत्पादन अनुमान तयार गर्दा मन्त्रालयले निकै वैज्ञानिक र आधुनिक विधि अपनाएको दाबी गरेको छ। सात वटै प्रदेशका कृषि विकास सम्बन्धी मन्त्रालयबाट प्राप्त तथ्यांकलाई मुख्य आधार बनाइएको छ।

    यसका साथै धान बाली भित्र्याइएको क्षेत्रफल यकिन गर्न अघिल्ला वर्षका तथ्यांक, रोपाइँको अवस्था, सिँचाइ सुविधामा आएको परिवर्तन र किसानहरूसँगको अन्तर्क्रियालाई समेत ध्यान दिइएको छ।

    उत्पादकत्व मापनका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तह र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका इकाइ मार्फत गरिएको ‘बाली कटानी’ को तथ्यांकलाई आधार मानिएको छ।

    तथ्यांकको विश्वसनीयता अभिवृद्धि गर्न मन्त्रालयले इसिमोडसँगको सहकार्यमा ‘रिमोट सेन्सिङ २०२५’ बाट प्राप्त भूउपग्रह तथ्यांक समेत प्रयोग गरेको छ।

    यसरी विभिन्न माध्यमबाट प्राप्त तथ्यांक ‘ट्र्यांगुलेसन’ र ‘भ्यालिडेसन’ गरी अन्तिम प्रतिवेदन तयार पारिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.जानुका पण्डितले जानकारी दिइन्।

    उत्पादनमा आएको यो गिरावटले आउँदो वर्षको खाद्य आपूर्ति र आर्थिक वृद्धिदरमा पार्न सक्ने प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।