सुदूरपश्चिममा एमालेका दुई उम्मेदवार फेरबदल - Chaitanya News
  • 2026-05-05
  • 16:39:20
  • मंगलबार,बैशाख २२, २०८३
  • सुदूरपश्चिममा एमालेका दुई उम्मेदवार फेरबदल

    सुदूरपश्चिममा एमालेका दुई उम्मेदवार फेरबदल

    काठमाडौं–  सुदूरपश्चिम प्रदेशका दुई निर्वाचन क्षेत्रमा नेकपा एमालेले अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्दै जितमुखी रणनीति अपनाएको संकेत दिएको छ। पार्टी सचिवालयको पछिल्लो निर्णयअनुसार बझाङ र कञ्चनपुर–१ मा पहिले तय गरिएका उम्मेदवारलाई हटाएर विगतको निर्वाचन परिणाम र लोकप्रियता आधारमा नयाँ उम्मेदवार अघि सारिएको हो।

    बझाङमा अफिलाल ओखेडाको सट्टा एन महर र कञ्चनपुर–१ मा कमला बोहराको स्थानमा तारालामा तामाङ लाई टिकट दिइएको छ। यी दुवै उम्मेदवार अघिल्लो निर्वाचनमा सशक्त प्रदर्शन गरेका र मतदातामाझ राम्रो पकड बनाएका नेताका रूपमा चिनिन्छन्।

    विशेषतः बझाङमा महरले अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग ९९८ मतको न्यूनतम अन्तर मात्रले हार व्यहोरेका थिए। यो सुदूरपश्चिमका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा झिनो मतान्तरको हार हो, जसले महरको पुनरागमनलाई स्वाभाविक बनाएको एमाले नेताहरूको बुझाइ छ।

    त्यसैगरी कञ्चनपुर–१ मा तारालामा तामाङले अघिल्लो निर्वाचनमा गठबन्धनकी उम्मेदवार बिना मगरलाई ४ हजार ९११ मतले पराजित गर्दै प्रभावशाली जित हासिल गरेका थिए। यही जितको आधारमा एमालेले तामाङलाई पुनः मैदानमा उतारेर क्षेत्र सुरक्षित गर्न खोजेको देखिन्छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार यो उम्मेदवार हेरफेर आन्तरिक सन्तुलनभन्दा पनि प्रत्यक्ष चुनावी गणित लाई केन्द्रमा राखेर गरिएको निर्णय हो। एमाले सुदूरपश्चिममा गठबन्धनलाई चुनौती दिन कुनै जोखिम लिन नचाहेको सन्देश यस निर्णयबाट स्पष्ट देखिन्छ।