हेटौंडा– नेकपा एमालेले बागमती प्रदेशका १३ वटा जिल्लाका ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २८ वटा क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। ५ वटा क्षेत्रमा भने उम्मेदवार टुंगिन बाँकी रहेको छ।
हिजो (शनिबार) दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउँदा बागमती प्रदेश सरकारका पूर्वमन्त्रीदेखि सांसदसम्मले टिकट पाएका छन्। काठमाडौं जिल्लाको १० निर्वाचन क्षेत्रमा ६ जना उम्मेदवार तय भइसके भने ४ जना उम्मेदवार चयन गर्ने जिम्मा पार्टी अध्यक्ष अध्यक्ष ओलीले लिएका छन्।
काठमाडौं–१ बाट मोहन रेग्मी, २ बाट मणिराम फुयाल, ३ बाट रामेश्वर फुयाल, ६ बाट अमनकुमार मास्के, ८ बाट राजेश शाक्य र १० बाट विनोद श्रेष्ठ उम्मेदवार तय भएको एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन्।
अमनकुमार मास्के र रामेश्वर फुँयाल बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री हुन्। यसैगरी, काठमाडौं–४, ५, ७ र ९ नम्बर क्षेत्रमा उम्मेदवार चयन हुन बाँकी छ।
सिन्धुलीको १ नम्बर क्षेत्रबाट प्रदीप केसी (कटुवाल) र २ नम्बर क्षेत्रबाट मनोजजंग थापा उम्मेदवार चयन भएका छन्। केसी बागमती प्रदेशसभाका पूर्वसांसद हुन्।
रामेछापबाट माधवप्रसाद ढुङ्गेल, दोलखाबाट पार्वत गुरुङ, सिन्धुपाल्चोक–१ बाट आङदोर्जे शेर्पा र २ नम्बर क्षेत्रबाट शेरबहादुर तामाङ उम्मेदवार तय भएका छन्। काभ्रे–१ बाट अमित लामा र २ नम्बर क्षेत्रबाट उम्मेदवार तय हुन बाँकी रहेको छ।
धादिङको १ नम्बर निर्वाचन क्षेत्रबाट भूमी त्रिपाठी र २ नम्बरबाट धनबहादुर घले, नुवाकोटको १ नम्बर क्षेत्रबाट बद्री मैनाली र २ नम्बर क्षेत्रबाट केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ उम्मेदवार भयन भएका छन्।
नुवाकोटका पार्टी अध्यक्षसमेत रहेका केसी र पाण्डे बागमती प्रदेश सभाका पूर्वसांसद हुन्। उनीहरु प्रदेशसभाको अघिल्लो कार्यकालमा मन्त्रीसमेत बनेका थिए।
यसैगरी, मकवानपुरको १ नम्बर क्षेत्रबाट रामेश्वर राना र २ नम्बर क्षेत्रबाट महेश बर्तौला उम्मेदवार चयन भएका छन्। चितवनको १ नम्बर क्षेत्रबाट पार्टी अध्यक्षसमेत रहेका कृष्णराज (कमल) पाठक, २ नम्बर क्षेत्रबाट अस्मिन घिमिरे र ३ नम्बर क्षेत्रबाट शंकरराज थपलिया उम्मेदवार बनेका छन्।
ललितपुरको १ नम्बर क्षेत्रबाट चेतनाथ सञ्जेल, २ नम्बर क्षेत्रबाट प्रेमबहादुर महर्जन उम्मेदवार तय हुँदा ३ नम्बर क्षेत्रबाट भने उम्मेदवार टुंगिन बाँकी रहेको पार्टी बागमती प्रदेश कमिटी उपसचिव लामाले जानकारी दिइन।
यसैगरी, भक्तपुरको १ नम्बर क्षेत्रबाट सोम मिश्र र २ नम्बर क्षेत्रबाट महेश बस्नेत उम्मेदवार रहेको लामाले बताइन्। मिश्र २०७४ को स्थानीय तह निर्वाचनबाट चाँगुनारायण नगरपालिकाको मेयर निर्वाचित भएका थिए। मिश्र र बस्नेत पार्टी कमिटीबाट सर्वसम्मत एकल सिफारिस भएका थिए।