विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेको गगन थापा समूहको दाबी - Chaitanya News
  • 2026-05-05
  • 17:27:52
  • मंगलबार,बैशाख २२, २०८३
  • विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेको गगन थापा समूहको दाबी

    विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेको गगन थापा समूहको दाबी

    काठमाडौँ– नेपाली कांग्रेसको गगन थापा समूहले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको अवस्थाबारे जानकारी गराएको छ।

    विशेष महाधिवेशनबाट चयन भएका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले आह्वान गरेर सम्बोधन गरेको बताए।

    निर्वाचन आयोगमा भएको छलफलमा उपसभापति शर्माले शेरबहादुर देउवा समूहले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि आयोगमा बताए।

    विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक रहेको दाबी उनको छ। ‘कारबाही गर्ने कुरा कानुनसम्मत छैन। हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो,’ शर्माले भने, ‘नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन।’

    उपसभापति शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने भन्नेमा आफू विश्वस्त रहेको पनि बताए।

    शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए। त्यसबारे व्यङ्ग्य गर्दै शर्माले यस्तो बताएका हुन्।

    ‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौँ,’ शर्माले भने, निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौँ भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौँ। निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौँ।