कांग्रेस नेता कार्यकर्ता निर्वाचन आयोगमा, सुरक्षा व्यवस्था कडा - Chaitanya News
  • 2026-04-27
  • 14:11:01
  • सोमबार,बैशाख १४, २०८३
  • कांग्रेस नेता कार्यकर्ता निर्वाचन आयोगमा, सुरक्षा व्यवस्था कडा

    कांग्रेस नेता कार्यकर्ता निर्वाचन आयोगमा, सुरक्षा व्यवस्था कडा

    काठमाडौँ– नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू आज निर्वाचन आयोग पुगेका छन्। शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन्।

    निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा.शशांक कोईराला, मिन विश्वकर्मा,नैनसिंह महर लगायतका नेताहरूको उपस्थिति छ। यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो।

    गगन थापा सभापतिसहितका नवनिर्वाचित पदाधिकारीहरूले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो।

    दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन्। निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ।

    नेता कार्यकर्ताको भीड बढ्न थालेपछि आयोगको सुरक्षा व्यवस्था कडा पारिएको छ।