तोमनाथ उप्रेती:
मानव जीवनको सबैभन्दा गहिरो युद्ध बाहिर होइन, भित्र लडिन्छ। यो युद्ध अरूसँग होइन, आफ्नै भावनासँग हुन्छ—विशेषतः ती भावनासँग, जसले मनलाई कमजोर र अशान्त बनाउँछ। तीमध्ये सबैभन्दा सूक्ष्म र शक्तिशाली भावनामध्ये एक हो—ईर्ष्या। ईर्ष्या मानिसको चेतनाभित्रको अदृश्य रोग हो, जसले उसलाई आफ्नो सुखभन्दा अरूको असफलतामा आनन्द खोज्न बाध्य बनाउँछ। यसको अन्त्य केवल आत्मशोधनबाट सम्भव छ, र यही प्रक्रिया अन्ततः ज्ञान मा रूपान्तरित हुन्छ।
ईर्ष्या तब जन्मिन्छ जब मनुष्यले तुलना गर्न सिक्छ। अरूको सफलतासँग आफ्नै अपूर्णतालाई जोड्ने क्षणमा मनमा एक हल्का पीडा उठ्छ, जुन क्रमशः विष बन्छ। तर यो पीडा विनाशकारी होइन, यदि उसले त्यसलाई अन्तःसंघर्षको साधना बनाउँछ। आत्मसमीक्षा गर्ने व्यक्ति ईर्ष्याको जरो देख्छ—त्यो आफ्नो असुरक्षा, लोभ र अपरिपक्व अहंको उपज हो भन्ने बुझ्छ। जब चेतनाले यो बोध गर्छ, तब त्यही ईर्ष्या आत्मविकासको द्वार बन्न थाल्छ।
हरेक नकारात्मक भावना कुनै न कुनै चेतनाको अपरिपक्व रूप हो। ईर्ष्या पनि ज्ञानपूर्व अवस्थाको संकेत हो—जहाँ व्यक्ति बाह्य मापनबाट आफूलाई परिभाषित गर्छ। जब उसले ध्यान, आत्मसंवाद वा मौन चिन्तनद्वारा आफ्नै अन्तर्यात्रा आरम्भ गर्छ, तब ऊ बुझ्न थाल्छ कि अरूको सफलता आफ्नो असफलता होइन; त्यो त जीवनको विशाल खेलको अर्को पाटो हो। यो बोध नै ज्ञानको प्रारम्भ हो।
अन्तःसंघर्ष आत्मा र अहंकारबीचको द्वन्द्व हो। अहंकार तुलना गर्छ, आत्मा तुल्यताको अनुभव गर्छ। अहंकारले अरूको चमकमा आफ्नो अस्तित्व हराएको महसुस गर्छ, तर आत्मा बुझ्दछ—प्रत्येक आत्मा अद्वितीय छ। जब व्यक्ति यो सत्य हृदयले स्वीकार्छ, तब ईर्ष्या हराउँछ र ज्ञान जन्मिन्छ। त्यस क्षण ऊ अरूको सफलतामा पनि आनन्द पाउन सक्षम हुन्छ, किनकि ऊ आत्मा र चेतनाको एकत्व महसुस गर्छ।ईर्ष्या आत्मशोधनको आगो हो। जसरी सुन सुन बन्न आगो सहन्छ, त्यसरी नै चेतना निर्मल बन्न ईर्ष्याको ताप पार गर्नुपर्छ। जसले आफ्नो ईर्ष्यालाई दबाउँछ, ऊ पीडित रहन्छ; तर जसले त्यसलाई बुझेर रूपान्तरण गर्छ, ऊ मुक्त हुन्छ। आत्मशोधनको यो साधनाले मानिसलाई संयम, करुणा र विनम्रताको पथमा अघि बढाउँछ।जब ईर्ष्या ज्ञानमा रूपान्तरित हुन्छ, तब मनुष्य आफ्नो सम्पूर्ण भावनात्मक ऊर्जा सकारात्मक सृजनातर्फ मोड्छ। ऊ अरूको सफलताबाट प्रेरणा लिन्छ, अरूको पीडामा संवेदना अनुभव गर्छ, र जीवनलाई प्रतिस्पर्धा होइन, सहयोगको यात्रा रूपमा हेर्छ। यही हो अन्तःसंघर्षको सार्थक साधना—जहाँ अन्धकारको रूपान्तरणबाट प्रकाश जन्मिन्छ, र ईर्ष्याको विष ज्ञानको अमृतमा परिणत हुन्छ।
ईर्ष्या, मानव मनोविज्ञानमा एक अदृश्य तर प्रचण्ड शक्ति हो, जसले मानिसको आत्मा, समाज र सम्बन्धहरूमाथि विषको वर्षा गर्दछ। यो भावना अरूको सफलता, सौभाग्य वा प्रतिभाप्रति उत्पन्न हुने मनोवैज्ञानिक अशान्ति हो, जसले आत्मसम्मानलाई कुण्ठित बनाउँदै, आत्मविकासका मार्गमा कुहिरो लगाइदिन्छ। ईर्ष्याले मानिसलाई केवल अरूप्रति होइन, आफूप्रति पनि घृणायुक्त दृष्टिकोण बनाउने बनाउँछ, जहाँ तुलनाको फन्दामा परेर ऊ आफूलाई निरन्तर तुच्छ ठान्न थाल्छ।
मानिस सजीव भए पनि उसका भावना कहिलेकाहीं निर्जीवजस्तै कठोर हुन्छन्—र त्यसको सबैभन्दा क्रूर उदाहरण हो ईर्ष्या। आत्म-अस्वीकृति, असन्तुष्टि, द्वेष र असुरक्षाको यो समुच्चय जीवनका उज्याला पक्षहरूमा अँध्यारो स्याहार्छ। जब मानिस अरूको उन्नति देखेर आफूलाई हेपिएको ठान्छ, तब ऊ आफ्नो सामर्थ्य र लक्ष्यप्रति अनभिज्ञ हुन थाल्छ। यथार्थमा, ईर्ष्याले प्रतिस्पर्धा होइन, आत्मघात प्रेरित गर्छ—जहाँ खुशी अरूको दुखमा सीमित हुन्छ र सन्तोष तिनको पतनमा।
सामाजिक दृष्टिले पनि ईर्ष्या एउटा घातक विष हो, जसले सम्बन्धहरूमा विषमता, अविश्वास र कलहको बीउ रोप्दछ। यसले मित्रतालाई खलल पार्दछ, पारिवारिक तानाबाना भत्काउँछ र मानिसलाई अन्ततः एक्लो बनाउँछ। यसमा लुकेको कटुता र मनोविषालु दृष्टिकोणले सहानुभूतिको ठाउँमा घृणा भरिदिन्छ। यस्तो प्रवृत्तिले मानसिक स्वास्थ्य मात्र होइन, शारीरिक स्वास्थ्यमा समेत दीर्घकालीन असर पुर्याउँछ—तनाव, उच्च रक्तचाप, अनिद्रा र अवसाद यसको सामान्य लक्षणहरू हुन्।शास्त्रीय दृष्टिमा पनि, ईर्ष्या ‘षड्दश्यु’ अर्थात् छ डाँकुमध्ये एक हो, जसले दया, करुणा, मैत्री, शान्ति जस्ता सद्गुणहरू अपहरण गरेर मानिसलाई विकृत मनोवृत्तिको कैदी बनाउँछ। बाल्यकालदेखि बृद्धावस्था सम्म यो मनोविकारको रूप लिँदै जान्छ, र मृत्यु नआउँदासम्म कहिल्यै बिसाउँदैन।
ईर्ष्याबाट मुक्ति भनेको मनको उपचार मात्र होइन—त्यो त जीवनको पुनर्जागरण हो। आत्मस्वीकृति, सहिष्णुता, योग, ध्यान, सकारात्मक सोच र कृतज्ञताको अभ्यास यसका औषधि हुन्। जो अरूको सफलतामा आनन्द लिन्छ, ऊ आफैं एक दिन असल सफलताको स्वाद चाख्दछ। ईर्ष्यालाई अँगालेर होइन, त्यागेर मात्र मानिस साँचो मानसिक शान्ति, आत्मविकास र जीवनको पूर्णता तर्फ अग्रसर हुन सक्छ।यसैले भनिएको छ—ईर्ष्या भावनात्मक तुषारो हो, जसले आत्माको उज्यालो झ्यालमा हिउँको पर्दा हाल्दछ। यस पर्दालाई च्यात्न सकिने साहस भनेको आत्मबोध, सहिष्णुता र आत्ममूल्याङ्कन हो—जहाँ व्यक्ति अरूको सफलता देखेर पीडित होइन, प्रेरित हुन्छ। यही बाटो हो, जहाँबाट मानिस आत्मा र समाज दुबैसँग साँचो मेलमिलाप गर्न सक्छ।
ईष्या—धेरैले देख्न नसक्ने, तर धेरैको अन्तरमनमा मौन दन्किरहने एक प्रज्वलित ज्वाला हो, जसले बाहिर भन्दा भित्र बढी जलाउँछ। यो केवल अर्काको समृद्धि, सौन्दर्य वा सफलताप्रति उद्भूत भावनात्मक अशान्ति मात्र होइन; यो आत्मविस्मृति, असुरक्षा र आत्माभावको मनोवैज्ञानिक संगालो हो। “ईर्ष्या नगर्नुहोस्” भन्नु सुसज्जित उपदेश हुन सक्छ, तर ईर्ष्यालाई पूर्णतः निर्मूल पार्नु भनेको आत्मज्ञान, आत्मनिरीक्षण र मानसिक अनुशासनको उचाइमा पुग्नु हो।
प्राचीन दर्शनमा वर्णित पाँच पीडामध्ये द्वेष अर्थात् ईष्या नै सबैभन्दा विकृत, तर गहिरो मनोवैज्ञानिक कारणबाट उत्पन्न हुने पीडा हो। ईष्या कुनै एकल रूपमा सीमित छैन; यो व्यक्ति, समाज, व्यवसाय, सम्बन्ध र आत्मसम्मानजस्ता विभिन्न क्षेत्रहरूमा बहुरूपधारी भई प्रकट हुन्छ। कसैको प्रशंसा सुन्दा हृदय कस्सिनु, सम्बन्धमा असुरक्षा महसुस हुनु वा अरूको पद, सौन्दर्य वा सफलता देखेर खिन्न हुनु—यी सबै ईष्याका सूक्ष्म तर सशक्त रूप हुन्।ईष्या आत्मस्वीकारको अभाव र आत्मसंतोषको क्षय हो। जब मानिसले आफूलाई अरूसँग तुलनाको आधारमा मूल्याङ्कन गर्न थाल्दछ, तब आत्मसन्देह जन्मिन्छ, जसले ईष्यालाई मलजल पुर्याउँछ। त्यो तुलना कहिल्यै निष्पक्ष हुँदैन, किनभने प्रत्येक व्यक्तिको चेतना, योग्यता, अवस्था र उद्देश्य फरक छन्। तथापि, तुलनाको यो सञ्जालमा अल्झिनु नै ईष्या उत्पत्तिको पहिलो चरण हो।
सम्बन्धमा ईष्याको उपस्थितिले प्रेमलाई नियन्त्रणमा, विश्वासलाई सन्देहमा र स्वतन्त्रतालाई अधिकारको आडमा कैद गर्न थाल्छ। यो त्यस्तो आगो हो, जसले प्रेमको मुहानलाई बिनाअनुमति सुकाउँछ। त्यो केवल मानवीय सम्बन्धमा होइन, पशुजन्य व्यवहारमा समेत स्पष्ट देखिन्छ—नयाँ सन्तानप्रति देखिने कुकुरको डाह, वा प्रियजनप्रति देखिने स्वामित्वको भावना, ईष्याको जैविक स्रोतको संकेत हो।
ईर्ष्या मानव चेतनाको सूक्ष्म तर शक्तिशाली भावना हो, जसले मनलाई अस्थिर र आत्मालाई कमजोर बनाउँछ। तर, यसलाई पराजित गर्न सकिन्छ—तरिका हो ज्ञान र आत्मबोध। जब मानिसले ईर्ष्याको उत्पत्ति, प्रवृत्ति र संरचना बुझ्न थाल्छ, तब त्यसको नियन्त्रण सम्भव हुन्छ। मनका तीन गुण—सत्त्व, रजस र तमस—बीच सन्तुलन कायम राख्दै योग, ध्यान र प्रार्थनाद्वारा चेतनालाई निर्मल बनाउनु नै यसको उपचार हो।भगवान श्रीकृष्णले गीता मा भनेका छन्, “काम, क्रोध, लोभ नै नाशको मूल हुन्,” र यी सबैको मिलन बिन्दु नै ईर्ष्या हो। यो न त मित्रतालाई टिकाउँछ, न आत्मबललाई बढाउँछ। त्यसैले, यसबाट भाग्नु समाधान होइन; यसको स्वीकृति र रूपान्तरण नै मार्ग हो। जब ईर्ष्या समझदारीपूर्वक सद्गुणमा रूपान्तरित हुन्छ, तब ऊ प्रेरणा बन्छ—स्व-विकास र आत्मगौरवको स्रोत।
ईर्ष्या नकारात्मक दोष मात्र होइन; यो बुझाइको अभावमा हराएको ऊर्जा हो। जब यो ऊर्जा आत्मशोधनमा प्रवाहित हुन्छ, तब व्यक्ति अरूको सफलताबाट द्वेष होइन, प्रेरणा लिन्छ। त्यस क्षण ऊ स्वतः शान्त, संयमी र आत्मविश्वासी बन्न पुग्छ। यही चेतनाको रूपान्तरण नै मानसिक शान्ति, आत्मसन्तुलन र साँचो मानवताको प्रारम्भ हो। ईर्ष्याले सम्बन्धमा पनि जटिलता ल्याउँछ। जब मानिस प्रेम वा मित्रताको सम्बन्धमा हुन्छ र तेस्रो व्यक्ति प्रवेश गर्छ, तब ईर्ष्याले हाम्रो भावनात्मक दुनियाँलाई हल्लाइदिन्छ। यो केवल मानिसमा होइन, जनावरमा पनि देखिन्छ—कुकुरले घरमा नयाँ सन्तान आउँदा देखाउने असहज व्यवहार यसको प्रमाण हो। यस्ता क्षणहरूमा ईर्ष्या केवल भावना होइन, आत्मरक्षाको स्वाभाविक प्रतिक्रिया हो—तर त्यसलाई दमन होइन, समझदारीको रूपान्तरण आवश्यक हुन्छ। श्रीमद्भगवद्गीता भन्छ– “काम, क्रोध र लोभ नरकका मूलद्वार हुन्”—तर मात्सर्य पनि तिनैको समकक्ष हो। जबसम्म ईर्ष्या आत्मशुद्धिको अभ्यासमा समाहित हुँदैन, तबसम्म मानसिक शान्ति एक भ्रममात्र रहन्छ। त्यसैले, ईर्ष्या र मानसिक शान्ति एकै सिक्काका दुई पाटाहरू हुन्—एउटालाई बुझेर मात्र अर्कोको प्राप्ति सम्भव हुन्छ। रूपान्तरण नै अन्ततः मुक्ति हो।
हामी जतिसुकै “ईर्ष्या नगर्नुहोस्” भन्ने उपदेश दोहोर्यायौं, व्यवहारमा भने यो त्याग्न कठिन छ। तर सजिलो उपाय हो—ईर्ष्या कसै व्यक्तिको होइन, विषयको गर्नुस्। कसैले लेखेको ज्ञानमूलक कृति देख्दा त्यो व्यक्तिलाई होइन, त्यो ज्ञानको गहिराइप्रति ईर्ष्या गर्नुहोस्। कसैले राम्रो सम्बन्ध बनाएको देख्दा त्यो व्यक्तिलाई होइन, त्यस सम्बन्धको परिपक्वतालाई ईर्ष्या गर्नुहोस्। यसरी ईर्ष्याको लक्ष्य रूपान्तरण गर्न सकियो भने त्यो प्रेरणाको आगो बन्न सक्छ, जसले आत्मविकासको बाटो देखाउँछ।
मानसिक शान्ति भनेको मौनता मात्रै होइन, अन्तर्दृष्टिको समन्वय हो। जब व्यक्ति ईर्ष्याको प्रकृतिलाई आत्मचिन्तनद्वारा बुझ्न थाल्दछ, आत्म-स्वीकृतिको प्रकाशले त्यस मनोभावनालाई उज्यालो बनाउँछ। ध्यान, योग, सकारात्मक दृष्टिकोण र गहन संवाद—यी सबै साधन ईर्ष्यालाई व्यवस्थापन गर्ने औषधि हुन्। ईर्ष्या नगर्नु भन्दा, ईर्ष्यालाई बुझेर उचित मार्गमा मोड्नु धेरै बुद्धिमत्तापूर्ण विकल्प हो।tomnath2022@gmail.com