‘पार्टीको चुनाव चिह्न रुख र चारतारे झन्डा हामीसँगै छ,काँग्रेस नै हामी हो : गगन थापा - Chaitanya News
  • 2026-11-22
  • 22:40:29
  • आइतबार,मंसिर ०७, २०८३
  • ‘पार्टीको चुनाव चिह्न रुख र चारतारे झन्डा हामीसँगै छ,काँग्रेस नै हामी हो : गगन थापा

    ‘पार्टीको चुनाव चिह्न रुख र चारतारे झन्डा हामीसँगै छ,काँग्रेस नै हामी हो : गगन थापा

    काठमाडौँ– नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन्।

    देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्कासनको निर्णय गरे लगत्तै थापाले पार्टीको आधिकारीकनै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन्।

    ‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ। असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि,’ गगनले भने, ‘अब हामी अल्मलिनुपर्ने अवस्था रहेन। विशेष महाधिवेशनको मनोनयनको काम सकियो। नामावलीहरू सार्वजनिक हुँदै छ। संवादका लागि प्रयास भएका थिए सफल भएनन्।’

    अब काँग्रेसको आधिकारिकताबारे थापाले थपे, ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदै छ। यही नै काँग्रेस हो।’

    विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने पनि थापाको भनाइ छ।

    ‘आज निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौँ,’ उनले भने, ‘पार्टीको चुनाव चिह्न रुख, चारतारे झन्डा हामीसँगै छ। अर्को कुरा काँग्रेस नै हामी हौँ ।’