धनगढी- चैतन्य पाठशालाले आयोजना गरेको चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढीका सामाजिक अभियन्ता रमेश कुमार चन्द लाई “सामाजिक सेवा एवं नेतृत्व सम्मान” प्रदान गरिएको छ।
समाजमा सकारात्मक परिवर्तन, जनचेतना अभिवृद्धि तथा समुदायको सशक्तीकरणका लागि निरन्तर योगदान पु¥याउँदै आउनु भएको योगदानको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो । महोत्सवको विशेष समारोहबिच चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र र मायाको चिनोसहित चन्दलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
चन्दले सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहँदै युवापुस्तालाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमतातर्फ प्रेरित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। विशेष गरी समुदाय स्तरमा सचेतना फैलाउने, सामाजिक एकता सुदृढ गर्ने तथा नागरिक सहभागिता बढाउने कार्यमा उनको योगदान उल्लेखनीय रहेको आयोजकले बताइएको छ ।
सम्मान ग्रहण गर्दै रमेश कुमार चन्दले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराएको बताउँदै आगामी दिनमा पनि समाजसेवा र युवाको सशक्तीकरणका क्षेत्रमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। उनले यस्ता सम्मानले समाजमा सेवा गर्ने व्यक्तिहरूलाई थप हौसला प्रदान गर्ने उल्लेख गरेका छन् ।
कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका प्रतिनिधिहरूले विद्यार्थी महोत्सवको उद्देश्य केवल शैक्षिक र मनोरञ्जनात्मक गतिविधिमा सीमित नरही समाजका लागि योगदान पु¥याउने प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्दै विद्यार्थीमा सामाजिक चेतना, नैतिक मूल्य र नेतृत्व विकास गर्नु रहेको बताए।
चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, साहित्यिक, सांस्कृतिक, खेलकुद तथा वैज्ञानिक गतिविधिसँगै समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गरिएको थियो। विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय चेतना अभिवृद्धि र सेवा भावको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको र हिजो समापन गरिएको आयोजकले जनाएको छ।