धनगढी- चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढी निवासी वरिष्ठ राष्ट्रिय चलचित्रकर्मी अम्बिका प्रसाद आचार्यलाई “चैतन्य कला साधना सम्मान” प्रदान गरिएको छ। सुदूरपश्चिमबाट नेपाली चलचित्र यात्राको ऐतिहासिक थालनी गर्दै पहिलो कथानक चलचित्रका नायकका रूपमा अभिनय, निर्देशन, निर्माण तथा कलाकार सङ्गठनमार्फत नेपाली चलचित्र, कला र संस्कृतिको प्रवर्द्धनमा दीर्घकालीन, सृजनात्मक तथा नेतृत्वदायी योगदान पु¥याएको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
महोत्सवको आठौँ दिन आज प्रमुख अतिथि रहनुभएका साहित्यकार तथा विशिष्ट अतिथि एन.आर.एन.ए. सद्भावना दूत तथा दमकडा माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत वाक्कलाका प्रभावशाली प्रस्तोता ओजस्वी आचार्य, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीज्यूले सम्मान पत्र र मायोको चिनो सहित आचार्यलाई सम्मान गरेका हुन ।
आचार्यले सुदूरपश्चिमबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरी यहाँको भाषा, संस्कृति, जीवनशैली र सामाजिक यथार्थलाई राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । अभिनयसँगै निर्देशन र निर्माण क्षेत्रमा समेत सक्रिय रहँदै उनले नयाँ कलाकारलाई अवसर प्रदान गर्ने, कलाकार सङ्गठनलाई सुदृढ बनाउने तथा स्थानीय प्रतिभालाई राष्ट्रिय पहिचान दिलाउने अभियानमा निरन्तर योगदान पु¥याउँदै आएका छन् ।
सम्मान ग्रहण गर्दै आचार्यले आफूलाई प्राप्त सम्मानले जीवनभरको साधना र सङ्घर्षको कदर भएको अनुभूति गराएको बताए। उनले भने, “सुदूरपश्चिममा पनि अपार कला र प्रतिभा छन्। यदि सही मार्गदर्शन र अवसर प्रदान गरियो भने यहाँका कलाकारले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचान बनाउन सक्छन्” ।” उनले युवा पुस्तालाई धैर्य, निरन्तर अभ्यास र आत्मविश्वासका साथ कला क्षेत्रमा लाग्न प्रेरणा दिए ।
चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, साहित्यिक, सांस्कृतिक, खेलकुद तथा वैज्ञानिक गतिविधिसँगै समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गरिएको थियो। विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय चेतना अभिवृद्धि र सेवा भावको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको र आज समापन गरिएको आयोजकले जनाएको छ।