धनगढी- चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा गोदावरी नगरपालिका, कैलालीकी छात्रा निकिता अवस्थीलाई “चैतन्य युवा प्रतिभा सम्मान” प्रदान गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जिपिए प्राप्त गर्दै असाधारण शैक्षिक उपलब्धि हासिल गरी सुदूरपश्चिम प्रदेशलाई गौरवान्वित बनाएको योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो
महोत्सवको चौथो दिन विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट अवस्थीलाई मायाको चिनो, सम्मान–पत्र र दोसल्ला प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका डा. चिन्तामणि नाथ योगी विशिष्ट अतिथि सहायक जिल्ला प्रमुख अधिकारी किरण जोशीले उनलाई सम्मान पत्र सहित सम्मानित गरेका हुन ।
निकिता अवस्थीले निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रतिको समर्पणका माध्यमबाट शैक्षिक उत्कृष्टताको उदाहरण प्रस्तुत गरेकी छन्। सुदूरपश्चिम जस्तो भौगोलिक तथा शैक्षिक चुनौतीपूर्ण क्षेत्रमा बसेर पनि उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने सन्देश उनले आफ्नै उपलब्धिमार्फत दिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।
सम्मान ग्रहण गर्दै अवस्थीले आफूलाई प्राप्त सम्मानले अझ मेहनत गर्न प्रेरित गरेको बताउँदै भविष्यमा पनि अध्ययनलाई निरन्तरता दिँदै राष्ट्र र समाजका लागि योगदान गर्ने लक्ष्य रहेको भाव व्याक्त गरेकी छन् ।
शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गर्नुको उद्देश्य अन्य विद्यार्थीलाई पनि मेहनत, अनुशासन र लक्ष्यप्रति केन्द्रित हुन प्रेरित गर्नु रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए। “निकिता अवस्थीजस्ता विद्यार्थीहरू सम्पूर्ण विद्यार्थी समुदायका लागि प्रेरणाका स्रोत भएको समेत जोशीको भनाई रहेको छ ।
चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक, विज्ञान तथा प्रविधि प्रदर्शनी, साहित्यिक कार्यक्रम तथा विभिन्न प्रतिभा प्रदर्शनका गतिविधिहरू सञ्चालन भइरहेका छन् ।
आगामी दिनहरूमा पनि शैक्षिक, खेलकुद, कला, प्रविधि तथा सामाजिक सेवाका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै प्रतिभा पहिचान र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने समेत आयोजकको भनाई रहेको छ।