चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रेरणादायी युवा आशिका ओली सम्मानित - Chaitanya News
  • 2026-04-30
  • 05:18:14
  • बुधबार,बैशाख १६, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रेरणादायी युवा आशिका ओली सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रेरणादायी युवा आशिका ओली सम्मानित

    धनगढी- चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढी, कैलालीकी प्रेरणादायी युवा आशिका ओलीलाई ‘प्रेरणादायी युवा सम्मान’ प्रदान गरिएको छ। अध्ययनसँगै आत्मनिर्भरताको मार्ग रोज्दै व्यावसायिक क्षेत्रमा सक्रिय भई स्व–रोजगार सिर्जना गर्नुका साथै युवामाझ सकारात्मक सोच, आत्मविश्वास र कर्मशीलताको सन्देश फैलाएको योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा। टी एन जोशीले ओलीलाई सम्मान पत्र र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले मायाको चिनो हस्तान्तरण गरेका थिए ।

    आशिका ओलीले अध्ययनलाई निरन्तरता दिँदै आफ्नै प्रयासमा व्यवसायको सुरुवात गरी आत्मनिर्भर बन्ने बाटो रोजेकी छन्। उनको यात्राले ‘पढाइसँगै उद्यमशीलता सम्भव छ’ भन्ने सन्देश दिँदै अन्य युवालाई पनि स्वरोजगारतर्फ आकर्षित गरिरहेकी छन् ।

    विशेष गरी युवामा बढ्दो बेरोजगारीको चुनौतीबिच ओलीको प्रयास प्रेरणाको स्रोत बनेको भन्दै चैतन्य पाठशालाले उनलाई प्रेरणादायी युवा सम्मानबाट सम्मानित गरेको जनाएको छ।

    सम्मान ग्रहण गर्दै आशिका ओलीले आफूलाई प्राप्त सम्मानले अझ जिम्मेवार बनाएको बताउँदै युवाहरूले अवसरको प्रतीक्षा मात्र नगरी आफैँ अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन्। “सानो प्रयासबाट पनि ठुलो परिवर्तन सम्भव हुन्छ। आत्मविश्वास र निरन्तर मेहनतले हरेक युवाले आफ्नो बाटो आफैँ बनाउन सक्छ,” उनले भनिन्। उनले विद्यार्थीहरूलाई लक्ष्यप्रति केन्द्रित रहन, असफलतासँग नडराउन र निरन्तर सिकिरहन आग्रह गरिन्।

    विद्यार्थीलाई पढाइसँगै जीवनोपयोगी सीप, उद्यमशील सोच र आत्मनिर्भरताको भावना विकास गराउने उद्देश्यले यस्ता प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्ने परम्परा सुरु गरिएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । “विद्यार्थीले किताबमा मात्र होइन, जीवनमा सफल भएका वास्तविक पात्रबाट पनि प्रेरणा लिनुपर्छ भन्ने सोचका साथ यो सम्मान प्रदान गरिएको” उनले बताए ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत विभिन्न शैक्षिक, सांस्कृतिक, खेलकुद तथा प्रतिभा प्रदर्शनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। महोत्सवको मुख्य उद्देश्य विद्यार्थीको सर्वाङ्गीण विकास, पठन संस्कृतिको प्रवर्द्धन, आत्मविश्वास वृद्धि तथा सृजनशील क्षमताको उजागर गर्नु रहेको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार आगामी दिनहरूमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।