घट्दो पठन संस्कृति, चैतन्य महोत्सवले दिनेछ नयाँ ऊर्जा – डा. टीएन जोशी - Chaitanya News
  • 2026-04-30
  • 05:17:16
  • बुधबार,बैशाख १६, २०८३
  • घट्दो पठन संस्कृति, चैतन्य महोत्सवले दिनेछ नयाँ ऊर्जा – डा. टीएन जोशी

    घट्दो पठन संस्कृति, चैतन्य महोत्सवले दिनेछ नयाँ ऊर्जा – डा. टीएन जोशी

    धनगढी – धनगढी शिवनगर चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रमुख अतिथिको रूपमा रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीले पछिल्लो समयमा प्रविधिको तीव्र विकाससँगै विद्यार्थीहरूमा पठन संस्कृतिमा कमी आएको उल्लेख गर्दै यस्तो अवस्थामा चैतन्य पाठशालाले आयोजना गरेको चैतन्य दोस्रो विद्यार्थी महोत्सवले विद्यार्थीमा पढ्ने बानी पुनः विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

    चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सवलाई सम्बोधन गर्दै उपकुलपति डा. जोशीले मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण विद्यार्थीहरू किताबबाट टाढिँदै गएको यथार्थतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । “आजका विद्यार्थीहरू प्रविधिमा अभ्यस्त हुँदै गएका छन्, जुन आफैँमा गलत होइन, तर यसले पुस्तक पढ्ने बानीलाई कमजोर बनाइरहेको छ। त्यसैले पठन संस्कृतिको प्रवर्द्धन अहिलेको अत्यावश्यक आवश्यकता हो,” उनले भने।

    उनले चैतन्य पाठशालाले महोत्सवमार्फत साहित्य, पठन, वक्तृत्व, सिर्जनात्मक लेखन, खेलकुद र विविध प्रतिभा प्रदर्शनका कार्यक्रमहरू समेटेर विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको भन्दै यसको खुलेर प्रशंसा गरे। “यस्ता कार्यक्रमले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक जीवनका लागि तयार बनाउँछन्। पढाइसँगै खेलकुद, कला, संस्कृति र सृजनशील गतिविधिमा संलग्न हुँदा विद्यार्थीमा आत्मविश्वास र नेतृत्व क्षमता विकास हुन्छ,” डा. जोशीले भने ।

    उनले पठन संस्कृतिले केवल शैक्षिक उपलब्धि मात्र होइन, सोच्ने क्षमता, विश्लेषण शक्ति र नैतिक चेतनाको विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय तहबाटै पुस्तकप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए। उनले भने “विद्यार्थीले किताबसँग मित्रता गर्न सिके भने उनीहरू जीवनभर सिक्ने यात्रामा अगाडि बढ्छन्, जसले समाज र राष्ट्र निर्माणमा समेत सकारात्मक योगदान पु¥याउँछ,” ।

    उपकुलपति डा. जोशीले चैतन्य पाठशालाले शिक्षा र संस्कारसँगै साहित्यिक चेतनाको विकासमा गरेको प्रयासलाई अत्यन्तै सराहनीय बताउँदै यस्ता गतिविधिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको तर्फबाट सधैँ सहकार्य र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । “चैतन्य पाठशालाले गरेको शैक्षिक तथा अन्य अभियानमा हामी सधैँ साथ दिन तयार छौँ । यस्ता कार्यक्रमहरूलाई अझ विस्तार गर्न सके विद्यार्थीमा सकारात्मक परिवर्तन देख्न सकिन्छ,” उनले उल्लेख गरे।

    कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। महोत्सवअन्तर्गत विभिन्न साहित्यिक प्रतियोगिता, वक्तृत्वकला, वाचन, चित्रकला, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।

    आयोजकका अनुसार चैतन्य दोस्रो विद्यार्थी महोत्सवको उद्देश्य विद्यार्थीलाई पठन संस्कृतितर्फ आकर्षित गर्नुका साथै पढाइसँगै सृजनशील र व्यवहारिक सीप विकास गर्ने वातावरण तयार गर्नु हो। यस्ता कार्यक्रममार्फत विद्यार्थीलाई बहु आयामिक रूपमा सक्षम बनाउने लक्ष्य रहेको पनि आयोजकले स्पष्ट पारेका छन्।