आईसीसी पुरुष टी–२०: लिटन दासको कप्तानीमा बंगलादेशको १५ सदस्यीय टोली घोषणा - Chaitanya News
  • 2026-04-28
  • 02:36:03
  • सोमबार,बैशाख १४, २०८३
  • आईसीसी पुरुष टी–२०: लिटन दासको कप्तानीमा बंगलादेशको १५ सदस्यीय टोली घोषणा

    आईसीसी पुरुष टी–२०: लिटन दासको कप्तानीमा बंगलादेशको १५ सदस्यीय टोली घोषणा

    काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि लिटन दासको कप्तानीमा बंगलादेशको १५ सदस्यीय टोली घोषणा भएको छ। भारत र श्रीलंकामा फेब्रुअरी–मार्चमा हुने विश्वकपमा बंगलादेशले इतिहास बदल्ने लक्ष्यसहित सहभागिता जनाउनेछ।

    बंगलादेशले हालसम्म भएका सबै टी–२० विश्वकप खेले पनि सेमिफाइनलमा पुग्न सकेको छैन। यसपटक घरेलुजस्तै अवस्थासँग परिचित पिच र सन्तुलित टोलीका कारण राम्रो प्रदर्शन गर्ने विश्वास टोलीको छ।

    बलिङतर्फ अनुभवी मुस्ताफिजुर रहमान र तस्किन अहमद प्रमुख हतियार हुनेछन्। स्पिनमा माहेदी हसन, नासुम अहमद र रिशाद होसैन प्रभावशाली हुने अपेक्षा गरिएको छ, जसले टर्न सहयोगी पिचमा टोलीलाई बलियो बनाउनेछ।

    ब्याटिङमा कप्तान लिटन दासमाथि ठूलो जिम्मेवारी रहनेछ भने शीर्षक्रममा तान्जिद हसन र परवेज हुसैन इमोनले आक्रामक सुरुआत दिलाउने आशा गरिएको छ।

    विश्वकपमा बंगलादेश समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल र इटालीसँग रहेको छ। समूहबाट दुई टोली मात्र सुपर ८ मा पुग्नेछन्, जसका कारण बंगलादेशलाई सुरुदेखि नै कडा चुनौती रहनेछ।

    बंगलादेशका समूह चरणका खेलहरू वेस्ट इन्डिज, इटाली र इंग्ल्यान्डसँग कोलकातामा हुनेछ भने नेपालसँग मुम्बईमा हुनेछ ।

    यसैबीच भारत र बंगलादेशबीच पछिल्लो समय राजनीतिक सम्बन्ध बिग्रिन थालेपछि बंगलादेश क्रिकेट बोर्डले खेलहरू श्रीलंकामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग आग्रह गर्ने पनि बताइएको छ।