पृथ्वीसुब्बा गुरुङ नवौँ पटक संसदीय चुनाव लड्दै, एमाले लमजुङले गर्‍यो उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-04-28
  • 02:25:58
  • सोमबार,बैशाख १४, २०८३
  • पृथ्वीसुब्बा गुरुङ नवौँ पटक संसदीय चुनाव लड्दै, एमाले लमजुङले गर्‍यो उम्मेदवार सिफारिस

    पृथ्वीसुब्बा गुरुङ नवौँ पटक संसदीय चुनाव लड्दै, एमाले लमजुङले गर्‍यो उम्मेदवार सिफारिस

    पोखरा– पृथ्वीसुब्बा गुरुङ नवौँ पटक संसदीय चुनाव लड्दैछन् । नेपालको संसदीय राजनीतिमा सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बन्नेहरूमा पृथ्वीसुब्बा गुरुङ एक हुन्। उनी २०४३ सालदेखिका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन्।

    २०४३ सालमा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए। २०५१ र ०५६ सालमा पनि गुरुङ सोही क्षेत्रबाट उम्मेदवार बनेर हारेका हुन्।

    २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पहिलो पटक निर्वाचित भए। तर, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भए। त्यसपछि २०७४ को निर्वाचनमा लमजुङ प्रदेशसभा ९ख० बाट प्रदेश सांसदमा निर्वाचित भएर उनी गण्डकीको संस्थापक मुख्यमन्त्री बने। मुख्यमन्त्री बनेपछि उनी २०७९ निर्वाचनमा लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

    पुनः प्रतिनिधि सभाकै निर्वाचनका लागि उनले आकांक्षा देखाएका छन्। लमजुङ एमालेले गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ। नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस गरिएको एमाले लमजुङले जनाएको छ।