काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण अपराधपूर्ण भएको बताएका छन्।
आज (आइतबार) खनालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्। ‘ भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानुनलाई खिल्ली उडाउने कार्य हो’ ‘अत्यन्त लज्जास्पद ढंगले गरिएको घोर अपराधपूर्ण कार्य हो।’
खनालले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध उभिएको र विश्वका न्याय प्रेमी देश, तेस्रो विश्वका राष्ट्र र संयुक्त राष्ट्रसंघसमेत अमेरिकी कारबाहीको विरोधमा रहेको उल्लेख गरेका छन्।
उनले भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धे दृष्टि लगाइरहेकोसमेत बताएका छन्। ‘भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धे दृष्टि लगाइरहेको थियो। किनभने भेनेजुएला विश्वकै सबैभन्दा ठुलो तेल भण्डार भएको देश हो। अमेरिकीहरू त्यो भण्डार कब्जा गर्न र लुट्न चाहन्छन्। तर मदुरोको सरकार त्यो कार्यका निम्ति सबैभन्दा ठुलो अवरोध बनेको थियो। त्यहीँ “अवरोध”लाई पन्छ्याउन ट्रम्प प्रशासनले “ड्रग ट्राफिकिङ” को झुट र नक्कली बहाना सिर्जना गरेर एउटा देश र त्यसका वैधानिक रूपले निर्वाचित राष्ट्रपतिमाथि पाशविक पाराले आक्रमण र अपहरण गरेको छ। विश्वका तमाम न्याय प्रेमी देशहरू र जनताहरू अमेरिकी आक्रमणका विरुद्ध उभिएका छन्। संयुक्त राष्ट्र संघ र सिलोजस्तो तेस्रो विश्व यस आक्रमणका विरुद्ध उभिएका छन्। उनीहरू सबैले अमेरिकी आक्रमणको निन्दा र भर्त्सना गरिरहेका छन्। स्वयं अमेरिकामा न्याय प्रेमी अमेरिकी जनता यो हिंस्रक आक्रमणको विरुद्ध सडकमा उत्रिएका छन्।’ विज्ञप्ति जारीमा उल्लेख छ।
साथै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हिंसात्मक आक्रमणविरुद्ध कडा कानुनी कदम चाल्न र साना तथा कमजोर मुलुकहरूको सार्वभौमसत्ताको रक्षा गर्न आग्रह गरेका छन्।