काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ।
आ (शुक्रबार) आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याबारे जानकारी गराएका हुन्।
उनका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ। मतपत्रको साइज अझै अन्तिम टुङ्गोमा नपुगेकाले छपाइ खर्च कति लाग्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने आयोगले जनाएको छ।
प्रत्यक्षतर्फको मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने भट्टराईले बताए। समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने निर्णय भएको छ भने प्रत्यक्षतर्फको मतपत्रको रङ्ग र ढाँचाबारे निर्णय हुन बाँकी रहेको छ।