१२ कक्षामा रोकिएको आशाको सपना ५४ वर्षमा दीक्षान्त मञ्चमा पूरा - Chaitanya News
  • 2026-04-28
  • 05:16:30
  • सोमबार,बैशाख १४, २०८३
  • १२ कक्षामा रोकिएको आशाको सपना ५४ वर्षमा दीक्षान्त मञ्चमा पूरा

    १२ कक्षामा  रोकिएको आशाको सपना ५४ वर्षमा दीक्षान्त मञ्चमा पूरा

     

    काठमाडौं– दीक्षान्त समारोहको मञ्चमा आमा र छोरी एउटै गाउन र क्यापमा उभिँदा धेरैका आँखा रसाए। त्यो दृश्य केवल एक परिवारको खुसी मात्र थिएन, त्यो संघर्ष, धैर्य र कहिल्यै नहार्ने हिम्मतको जीवित उदाहरण थियो। ५४ वर्षको उमेरमा स्नातक पूरा गरेकी आशा निरौला खनालका लागि त्यो क्षण जीवनभरको प्रतीक्षा र निरन्तर संघर्षको परिणाम थियो।

    आशा निरौलाको कथा सामान्य छैन । यो कथा विवाहपछि कक्षा १२ मै पढाइ रोकिनु परेको एक किशोरीको हो, जसले जीवनका कठोर मोडहरू पार गर्दै आफ्ना सन्तानलाई मात्र होइन, आफ्नै अधुरो सपनालाई पनि गन्तव्यसम्म पुर्‍याइन् ।
    झापाको बिर्तामोडकी आशा निरौलाको पढाइ राम्रै चलिरहेको थियो । विद्यालयमा उनी मेहेनती विद्यार्थीका रूपमा चिनिन्थिन्। तर विवाहसँगै उनको जीवनले अर्कै मोड लियो । कक्षा १२ मा अध्ययनरत रहँदा विवाह भएपछि पढाइ निरन्तरता दिन सकिन ।

    ‘त्यतिबेला छोरी मान्छेले धेरै पढ्नु पर्दैन भन्ने सोच समाजमै गहिरो थियो,’ आशा सम्झिन्छिन्,
    ‘म आफैँ पनि जिम्मेवारीले बाँधिएँ । पढाइ रोकियो, सपना थाती राखियो ।’

    विवाहपछि परिवार, घरधन्दा र सामाजिक अपेक्षाले उनको समय र ऊर्जा सबै लियो । पढाइ पुनः सुरु गर्ने सोच मनमा पलाए पनि परिस्थितिले साथ दिएन ।

    जीवन विस्तारै लयमा फर्किंदै थियो । चार सन्तानको आमा बनेकी आशा गृहिणी जीवनमै व्यस्त थिइन् । तर एकाएक आएको वज्रपातले उनको जीवन फेरि तहसनहस बनायो । श्रीमान् असमयमै बिते ।
    ‘त्यो दिन मेरो जीवनको सबैभन्दा अँध्यारो दिन थियो,’ उनी भन्छिन्,

    चार सन्तान, कुनै स्थिर आयस्रोत छैन, भविष्य अनिश्चित—सबै जिम्मेवारी एकैचोटि काँधमा आयो ।’
    श्रीमान् गुमाएपछि आशा निरौला एक्लै आमा र बाबु दुवै बन्नुपर्‍यो । आर्थिक अभाव, सामाजिक दबाब र मानसिक पीडाबीच पनि उनले हार मानिनन् । जीवनको कठिनतम चरणमा पनि आशाले आफ्ना सन्तानको शिक्षालाई पहिलो प्राथमिकतामा राखिन् । सानो व्यवसाय, मजदुरी र उपलब्ध अवसर प्रयोग गरेर उनले परिवार धानिन् ।
    ‘म आफैँ पढ्न नपाएको पीडा बुझ्थेँ,’ उनी भन्छिन्, ‘त्यसैले मेरा छोराछोरीले त्यो अभाव भोग्न नपरोस् भनेर सकेजति गरेँ ।’

    उनको संघर्ष रंग ल्यायो । चारै सन्तान उच्च शिक्षासम्म पुगे । सन्तानको सफलतासँगै आशाको मनमा दबिएको एउटा सपना फेरि ब्युँझियो—आफ्नो पढाइ पूरा गर्ने सपना ।

    ५४ वर्षमा कलेजको ढोका
    उमेर बढिसकेको थियो । समाजले “अब पढेर के गर्नुरु” भन्ने प्रश्न गरिरहेको थियो । तर आशाले ती आवाजहरूलाई मनमा बस्न दिइनन् । सन्तानकै हौसलामा उनले पुनः पढाइ सुरु गर्ने निर्णय गरिन् ।

    छोरीले नै भन्नु भयो—आमा, तपाईंले हामीलाई पढाउनुभयो, अब तपाईंको पालो,’ आशा मुस्कुराउँदै भन्छिन् ।
    ५४ वर्षको उमेरमा उनले स्नातक तहमा भर्ना भइन् । कलेजको कक्षामा उनी सबैभन्दा जेठी विद्यार्थी थिइन् । सुरुमा अप्ठ्यारो लाग्यो, तर आत्मविश्वास कमजोर भएन ।

    कहिलेकाहीँ साथीहरूले आमा भनेर जिस्क्याउँथे,’ उनी हाँस्दै सम्झिन्छिन्,
    ‘तर त्यो जिस्क्याइले मलाई झन् बलियो बनायो ।’

    आमा–छोरी एउटै मञ्चमा
    स्नातक पूरा भएपछि आएको दीक्षान्त समारोह आशाका लागि जीवनकै अविस्मरणीय क्षण बन्यो । उनकी छोरी पनि यहिँ वर्ष दीक्षान्त भएकी थिइन् । आमा र छोरी एउटै मञ्चमा उभिँदा त्यो दृश्यले दीक्षान्त समारोहलाई मात्र होइन, धेरै जीवनलाई छोयो ।

    ‘त्यो क्षण मैले जीवनभरको थकान बिर्सिएँ,’ आशा भावुक हुँदै भन्छिन्,
    ‘लाग्यो—मैले हार मानेको भए आज यो दिन देख्न पाउने थिइनँ ।’

    छोरीका लागि पनि त्यो क्षण गर्वको विषय थियो । ‘मेरी आमा मेरो सबैभन्दा ठूलो प्रेरणा हुनुहुन्छ,’ छोरी भन्छिन् ।
    समाजका लागि सन्देश

    ‘उमेर, परिस्थिति र जिम्मेवारी सपना पूरा गर्न बाधा होइनन् । आत्मविश्वास र लगन भयो भने जुनसुकै बेला पनि सुरु गर्न सकिन्छ आशा भन्छिन् ।’

    आज उनी धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेकी छिन् । पढाइ छोडेका महिला, एकल आमा, जिम्मेवारीले थिचिएका गृहिणीहरू—सबैका लागि आशा निरौलाको यात्रा एउटा सन्देश हो ।

    सपनाको उमेर हुँदैन भने झै ५४ वर्षको उमेरमा स्नातक पूरा गरेर छोरीसँगै दीक्षान्त मञ्चमा उभिनु आशा निरौलाको व्यक्तिगत जित मात्र होइन । यो समाजलाई चुनौती दिने उदाहरण हो ।जीवनले जति नै कठिन परीक्षा लिए पनि, नहार्ने हिम्मत र निरन्तर मेहनतले असम्भव देखिने सपनासमेत सम्भव बनाउँछ भन्ने सन्देश आशा निरौलाको कथाले दिएको छ।

    आशा निरौलाको कथा केवल व्यक्तिगत उपलब्धिको कथा होइन। यो समाजका ती हजारौँ महिलाको कथा हो, जसका सपना विवाह, जिम्मेवारी र परिस्थितिले थाती राखिन्छन् ।